बाजुराको बुढीगंगामा भोलि मतदान हुँदै

लोकपथ
0
Shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपलिकामा भोलि (बिहीबार) मतदान हुने भएको छ ।

बुढीगंगामा गत बैशाख ३० गते निर्वाचन स्थगित भएको थियो । गत निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदान प्रक्रियामा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै रोकिएको थियो । निर्वाचन आयोगले गरेको स्थलगत अध्ययनले पुनःनिर्वाचन गर्ने निष्कर्ष निकालेको थियो । निर्वाचन पुनः हुनुपर्ने माग गर्दै अदालतमा मुद्दासमेत परेको थियो । विवादपछि सर्बदलीय सहमतिका आधारमा पुनः निर्वाचनको मिति तय गरिएको थियो । बिहीबार हुन लागेका निर्वाचनलाई शान्तीपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडाइ गरिएको जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, निस्पक्ष, मयार्रिदत र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिकाका सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । १० वटा मतदान स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक–इन्सपेक्टरको नेतृत्वको टोली खटाइएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेका छन् ।

निर्वाचन कार्यलयका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको छ । बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु गरिनेछ । मंगलबार सबै मतदानस्थलको निरीक्षण गरेका अधिकारीले बुधबार पनि मुख्य निर्वाचन अधिकृतसहितको टोलीले निरीक्षण गर्ने कार्यक्रम रहेको जनाए । बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?