निर्मला हत्या प्रकरणः विश्वस्त छैन परिवार ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् !’

कञ्चनपुर – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् ।

भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे ।

‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन ।

दुर्गादेवीका आँखा रसाइरहेका थिए ।
यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’

पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने हो कि भन्ने शंका रहेको दुर्गादेवीले बताइन् ।

‘अहिले जताततै प्रमाण मेटिएको कुरा बाहिर आएको छ, तर प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको देखिँदैन,’ उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’

घटनापछि भेट्न आएका मन्त्री, नेता र जनप्रतिनिधिले दोषी पत्ता लगाउन पहल गर्ने आश्वासन दिए पनि उनी विश्वस्त छैनन् । ‘दोस्रो पटक अनुसन्धान सुरु गरेकै १० दिन पुगिसक्यो, अझै केही पत्ता लागेको छैन,’ दुर्गाले भनिन् ।

मन्त्री मगरसँगै शनिबार प्रतिनिधिसभा सदस्यहरू दीपकप्रकाश भट्ट, निरु पाल र प्रदेशसभा सदस्य प्रकाश रावल पीडित परिवारलाई भेट्न पुगेका थिए ।
‘अहिले नेता आउने क्रम बढेको छ तर हाम्रा कुरा नसुनी फर्किन्छन्,’ स्थानीय रामचन्द्र शाहले भने, ‘सबै फोटो खिचाउन मात्र आएजस्तो गर्छन् ।’

शनिबार पनि स्थानीयले मन्त्री मगरसँग केही कुरा राख्न खोज्दा उनी हतार छ भन्दै निस्किइन् । जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान जारी रहेको जनाउँदै आएको छ ।

पक्राउ गरिएका बम दिदीबहिनीसँग बयान लिने काम भइरहेको डीएसपी कृष्णराज ओझाले जानकारी दिए आजको कान्तिपुर दैनिकमा  यो खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?