बिम्सटेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन्: डा. महत

काठमाडौं ।  पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिम्सटेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको आरोप छ । 

बिम्सटेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए । 

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालले बिम्सटेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे । 

ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपाललेनै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए ।  बिम्सटेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ । 

“म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ ।”–उनले भने । नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै भारत वा चीन जहाँबाट रेलमार्ग बनाएपनि त्यही देशले बनाइदिनुपर्ने उनको भनाई छ । 

अहिलेको सरकारले स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको महतको आरोप छ । “सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ । यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।”–महतले भने । 

बिम्सटेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए । नेपालको सुरक्षा व्यवस्था सक्षम भएपनि सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ । 

फरक प्रसंगमा उनले कांग्रेसमा पार्टी सभापतिलाई दिने अधिकारको विषयमा बहस भएको बताए । केन्द्रिय समिति र महासमिति बैठकमा सभापतिको क्षेत्राधिकारको विषयमा वृहत्त छलफल गरिने महतले बताए । 

पार्टीभित्रको गुट उपगुटलाई कार्यकर्ताले स्विकार गर्न नसक्ने भन्दै उनले यस विषयमा नेताहरु सचेत हुनुपर्ने बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?