१२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएको त्यो कालो दिन …..

काठमाडौ । २०६१ साल भदौ १६ गते …….

इराकबाट समाचार आयो । वैदेशिक रोजगारीको क्रममा इराक पुगेका १२ जना नेपालीको क्रुरतापूर्वक हत्या भएको । 

अपहरणको ११ दिनपछि अपहरित सबै युवाको हत्या भएको खबरले मुलुकभर सन्नाटा छायो । ती मध्येका एकको शीरच्छेदन र अरुलाई गोली हानी हत्या गरिएको भिडियो सार्वजनिक ग¥यो, आतंककारी समूहले ।

भिडियो सार्वजनीक हुनै बितिकै इतिहासमै नदेखिएको दंगा फैलियो, राजधानीमा ।

यसरी १२ जना निर्दोष नेपालीको परदेशी भूमीमा भएको हत्याको आगो नेपालमा फैलिएको थियो । संगठितजस्तो लाग्ने हुलदंगाकर्मीहरूको जमातले एकाएक राजधानी उपत्यकास्थित मुस्लिम समुदायको पवित्र स्थान, पवित्र वस्तु लगायत व्यक्ति–व्यक्तिमाथि आक्रमण गर्न थाल्यो । धर्मगुरूदेखि व्यापारी समुदाय र गृहिणीहरूसम्म आक्रमणको तारो बने । २०६१ भदौ १६ गतेको त्यो घटनामा राजधानीमा रहेको अधिकांश म्यानपावर कम्पनी जलाइएका थिए ।

करोडौंको क्षति भएको थियो । त्यसैले त्यस घटनायता वैदेशिक रोजगार व्यवसायीहरूले सधै भदौ १६ गतेलाई कालो दिनको रूपमा स्मरण गर्ने गरेका छन् । 

कालो दिन भनिएको इराक हत्या काण्डको १३ बर्ष पूरा भएको छ ।  पीडा कम भएपनि स्मरण अझै उस्तै छ ।

उक्त समूहले झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।

यसैगरी, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको समेत सोही दिन विभत्स तवरले हत्या भएको थियो । तीमध्ये एकजनाको घाँटी रेटेर र अरुको गोली हानेर हत्या गरिएको थियो ।

देशमा रोजगारीको अवसर नभएपछि दलालहरूको प्रलोभनमा परेर इराक पुगेका नेपाली कामदारहरूले अनाहकमा ज्यान गुमाउनु परेको थियो । उनीहरूलाई अमेरिकी गुप्तचर भन्दै पहिले बन्धक बनाएको थियो र पछि निर्मम रूपले हत्या गरिएको थियो ।

केबीआर अन्तरगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक र्पुयाएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ ।

अदालतका तीन न्यायाधीशको इजलासमा भएको सुनुवाइका क्रममा बहुमतबाट यो निर्णय आएको हो । दुई न्यायाधीशले केबीआर अमेरिकी कम्पनी भएपनि सबै घटना विदेशमा भएकाले अमेरिकी अदालतको क्षेत्राधिकारमा नपर्ने मत राखे । एक न्यायाधीशले भने अमेरिकी सरकारकै लागि कामदार उपलब्ध गराउँदाको घटना भएको भन्दै अमेरिकी कानुन अनुसार हेर्नुपर्ने बताएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?