वडाध्यक्षले गरे आफ्नै पारिश्रमिकबाट शिक्षक नियुक्ति

लोकपथ
5.3k
Shares

अर्घाखाँची । अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।

सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्वर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एकएक जना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पढाउनका लागि १२/१२ हजार तलब पाउने गरी दुई जना शिक्षक नियुक्त गरिएको हो । ‘शैक्षिक गुणस्तर बढाउन शिक्षक संख्या कम भएका स्कूलहरूमा शिक्षक नियुक्त गरेका हौँ,’ ठकुरीले भने, ‘मैले पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।’

वडामा रहेका सवै स्कुलमा अध्ययनरत कक्षा १ का सबै विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिल जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरूमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभर करिब ३५० विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?