घटनास्थलमा भेटिएको पन्जाले झस्कियो प्रहरी

काठमाडौँ – प्रहरी अनुसन्धान नटुंगिँदा फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशवराज झाको हत्या प्रकरण रहस्यमै छ । ८० वर्षीय झाको भदौ ४ मा थापाथलीस्थित आफ्नै निवासमा चक्कु प्रहार गरी हत्या भएको थियो ।

त्यसलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो । घटनाको दुई साता हुनै लाग्दा पनि प्रहरी झा हत्याको कारणबारे निष्कर्षमा पुग्न सकेको छैन ।

महाशाखाले झाको घरमा काम गर्ने माली, भान्से र सुरक्षागार्डलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरूबाट घटनाबारे ठोस सूचना पाउन सकेको छैन । महाशाखाका एक अनुसन्धान अधिकारीले घटना थप रहस्यमयी बन्दै गएको र कारणबारे प्रहरीले अझै ठोस सबुत फेला पार्न नसकेको बताए ।

महाशाखाले घटनास्थलबाट बरामद चक्कुबाट फिंगरप्रिन्ट प्राप्त गर्न सकिने र त्यसैका आधारमा केही निष्कर्षमा पुग्न सकिने आशा गरेको थियो । उक्त चक्कु जाँचका लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ । घटनास्थलबाहिर दुईवटा पन्जा फेला पारेपछि भने प्रहरी झस्किएको थियो । एक अनुसन्धान अधिकारीका अनुसार अपराधीले पन्जा लगाएर चक्कु प्रहार गरेको हुन सक्ने अनुमान गरिएको छ । त्यस्तो भए चक्कुमा फिंगरप्रिन्ट भेटिँदैन । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?