जसपामा भट्टराई कमजोर हुँदै, नयाँ मन्त्रीको नियुक्तिसँगै उपेन्द्र पक्ष झनै बलियो

लोकपथ
28
Shares

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टीले सोमबार सरकारमा नयाँ मन्त्रीहरु पठाएको छ । पार्टीको आन्तरिक कलहकाबीचमा जसपाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुको फेरबदल गरेको हो ।

सोमबार प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् ।

जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको छ । जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । महिन्द्राराय यादव, रेणु यादव र रामसहाय प्रसाद यादवलाई हटाएर उनीहरूलाई नियुक्त गरिएको हो ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव पार्टीमा झनै बलियो हुन पुगेका छन् । यसअघि भट्टराईको पक्षमा उभिदै आएका आएकामध्ये मोहम्मद इस्तियाक राई र प्रदीप यादव नयाँ मन्त्री नियुक्त भएसँगै यादव आन्तरिक राजनीतिमा बलियो हुन पुगेका हुन् ।

आफ्नोविरुद्ध हस्ताक्षर अभियानसमेत चलाएका नेताहरु राई र यादवलाई नै मन्त्रीमा सिफारिस गरेर यादवले बाबुराम ‘फयाक्टर’ लाई कमजोर बनाएका छन् । ‘इस्तियाक राई, प्रदीप यादव मन्त्रीमण्डलमा पर्नुभयो, महेन्द्रराय यादवजी पनि उपेन्द्रतिर नै आउनु भएको छ, अब बाबुरामजीसँग त को होला र ?,’ जसपा प्रमुख सचेतक प्रमोद साहले भने, ‘यो घटनाक्रमले त उपेन्द्रजी पार्टीमा स्वतः बलियो हुनु भएको छ ।’ उनका अनुसार मन्त्रीमण्डलमा सिफारिस भएलगत्तै जसपा नेपालको आन्तरिक कलह पनि सकिएको छ ।

पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णय अनुसार ‘तीन सदस्यीय हेडक्वाटर’ अर्थात् यादव, भट्टराई र अशोक राईको सहमतिमा मात्रै कुनै पनि महत्वपूर्ण निर्णय लिने भन्ने सहमतिलाई यादवले उल्लंघन गरेको, पार्टीलाई मनोमानी रुपमा चलाउन खोजेको, स्थानीय तहको निर्वाचनमा एकलौटी रुपमा टिकट वितरण गरेको, ‘हेड क्वाटर’को अवधारणाविपरित मन्त्रीमण्डल सिफारिसमा एकलौटी अधिकार लिएको विषयमा यादव र भट्टराई पक्षबीच आन्तरिक संघर्ष चल्दै आएको थियो ।

लामो समयदेखि अध्यक्ष यादव र भट्टराईबीच पार्टी संचालनमा विवाद रहँदै आएको थियो । यस क्रममा डा. भट्टराईले बहुमत कार्यकारिणी सदस्य जुटाएर अध्यक्ष यादवलाई अल्पमतमा पार्ने प्रयास समेत गरेका थिए । तर, त्यसमा असफल भएपछि गत बुधबार दुबै नेताहरु सहमतिमै अलग हुने निर्णयमा पुगेका थिए । अब, भट्टराईको पक्षमा राजकिशोर यादवलगायत केही असन्तुष्ट नेता मात्रै बाकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?