अस्पताल खर्च तिर्न नसकेका सुरज सम्झौता गरी छुटे

बुटवल- उपचार खर्च तिर्न नसकेर झण्डै १५ महिना अस्पतालमा बस्न बाध्य बनाइएका एक युवकलाई आज अस्पतालसँगको सहमतिपछि घर फिर्ता पठाइएको छ ।

दाहिने खुट्टा भाँचिएपछि उपचारार्थ अस्पताल भर्ना भएका ती युवकको उद्धार गरिएको हो । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वर्षीय सुरज विक उपचार खर्च तिर्न नसकेर विगत १५ महिनादेखि अस्पतालमै बन्धक जस्तै भएर बसेका थिए ।

बुटवलस्थित जेनस हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि मा गत वर्ष जेठको १४ गते भर्ना भएका विकको अस्पतालसँग सहमति गरी आज स्थानीय प्रशासनले उद्धार गरेको हो । अस्पतालले उहाँको बिल मात्र रु १२ लाखभन्दा बढी बताएपछि उक्त रकम तिर्न नसक्दा सुरज घर फर्कन पाएका थिएनन् ।

मोटरसाइकल दुर्घटना भएर चार ठाउँमा खुट्टा भाँचिएका सुरजको उपचारका लागि झण्डै ६ महिना लागे पनि त्यसपछि भने उपचार खर्च तिर्न नसकेपछि अस्पतालमै बस्नु परेको थियो । रकम तिर्न नसकेर युवक बन्धक बनेको जानकारी पाएपछि अस्पतालले २५ प्रतिशत सहुलियत छुट दिने सहमतिमा आज उनको उद्धार भएको हो । इलाका प्रशासन कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल, वडा नं ८ का प्रतिनिधि र अस्पताल प्रशासनबीच उपचार खर्च सहुलियत छुटबाहेक बाँकी रकम पुस मसान्तभित्र विभिन्न सङ्घसंस्थामार्फत जम्मा गरेर बुझाउने सातबुँदे सहमति भएको थियो ।

सहमतिमा अस्पतालले २५ प्रतिशत रकम छुट गर्ने, फार्मेसी, क्यान्टिन, अस्पतालमा भएको खर्च रकम पुस मसान्तसम्ममा भुक्तानी गर्ने, विभिन्न सङ्घसंस्थाहरुबाट सहयोग सङ्कलन गर्ने, बिरामी विकलाई उनको बुबा भगवती र दाजु दीपकको रोहवरमा दिनेलगायतका सातबुँदे सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?