किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?

काठमाडौं, ३० असोज- माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो ।वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता बसेर बन्दसूची तयार पारेका थिए । निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम समयतिर साँझ ५ बजे आयोग पुगेर माओवादीले सूची बुझाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।माओवादीभित्र श्रीमान्/ श्रीमती नै राजनीतिमा सक्रिय भएकामध्येबाट कतिपयले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका टिकट पाउने करिब-करिब पक्काजस्तै भएको छ ।समानुपातिक सूचीमा परेकी पूर्वसभामुख ओनसरीको श्रीमान् वर्षमान पुन रोल्पाबाट प्रत्यक्षमा निर्वाचन लड्दै छन् । अध्यक्ष दाहालका भाइ नारायण दाहाल समानुपातिक सूचीमा परेका छन् ।समानुपातिकमा परेकी पूर्वमन्त्री रेखा शर्मा कृष्णध्वज खड्काकी श्रीमती हुन् । खड्का प्युठानबाट प्रत्यक्षमा निर्वाचन लड्ने गरी सिफारिसमा परेका छन् । ‘दर्जन हाराहारीमा श्रीमान्, श्रीमती प्रत्यक्ष र समानुपातिक उम्मेदवार बन्दै हुनुहुन्छ,’ माओवादीका ती नेताले भने, ‘तर उहाँहरूले पार्टीमा योगदान पुर्‍याएर र जिम्मेवारीमै रहेका कारण उम्मेदवार बन्ने मौका पाउन लाग्नुभएको हो ।’शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन ।नेता बादललाई समानुपातिक उम्मेदवार बनाउने गरी माओवादीभित्र सुरुमा चर्चा चले पनि उनले प्रत्यक्षमै निर्वाचन लड्ने बताएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छैन । दाहाल चितवन ३, थापा चितवन २ र श्रेष्ठ गोरखा २ बाट निर्वाचन लडाउने माओवादी योजना छ । नेता कृष्णबहादुर महरा, वर्षमान पुन, चक्रपाणि खनाललगायतलाई माओवादीले प्रत्यक्षमै उम्मेदवार उठाउने भएको छ ।‘पार्टी शीर्ष नेता प्रत्यक्षमै निर्वाचन लड्नुहुन्छ, समानुपातिकमा बस्नुभएको छैन’, सूची बुझाउन निर्वाचन आयोग पुगेका नेता देवेन्द्र पौडेलले भने, ‘बन्दसूचीमा पनि नाम सच्याउन आयोगले अझै समय छुट्ट्याएकाले अझै केही फेरबदल हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?