पूर्वलडाकु लेनिन विष्टद्वारा सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । थाइल्याण्ड जान लाग्दा त्रिभुवन विमनस्थलबाट फर्काइएका पूर्वलडाकु लेनिन विष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । 

उनले गृह मन्त्रालय, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहमन्त्रीका विशेष सल्लाहकार सूर्य सुवेदी ‘पथिक’, अध्यागमन विभाग र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन् । 

यही भदौ ८ गते त्रिभुवन विमानस्थलबाट थाइल्याण्ड जान लाग्दा विष्टलाई अध्यागमनका कर्मचारीहरुले राहदानीमा प्रस्थान छापमा रद्द गरिएको छाप लगाई बोर्डिङ पास समेत खोसेका थिए । 

थाइल्याण्ड जानबाट रोकेर संविधानले दिएको स्वतन्त्रताको हक र समानताको हक उलंघन भएको भन्दै उनले आफूलाई रोक्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको पत्र बदर गरी विदेश जानबाट नरोक्न आदेश जारी गर्न माग गरेका छन् ।

आफूलाई थाइल्याण्डको कार्यक्रममा भाग लिन जान संविधानको कुनै पनि व्यवस्थाले नरोक्ने उनले रिटमा उल्लेख गरेका छन् । उनको रिटमा आइतबारलाई पेशी तोकिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?