भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दा नेपालले सहयोग गर्छः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दा नेपालले सहयोग गर्ने बताएका छन् । काठमाडौंमा आयोजित बिम्सटेक शिखर सम्मेलनको समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

बिम्सटेक सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बौद्ध सम्मेलन भारतमा गर्ने बताएका थिए । 

उक्त सम्मेलनमा सहभागितका लागि बिमस्टेक सदस्य राष्ट्रहरुलाई पनि आमन्त्रण गरेका थिए । यसलाई कतिपयले बुद्धलाई भारतमा जन्मिएको भन्ने देखाउन सम्मेलन आयोजना गर्न लागेको आरोप लगाएका थिए ।

‘नेपालले पटक–पटक अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गरेकै छ, नेपालले आफ्नो क्यालेन्डरमा यस्ता सम्मेलन भोलिका दिनमा पनि गर्नेछ, अरु देशले पनि गर्नुहुन्छ, बुद्धिजम प्रति अपनत्व विकास हुन्छ भने नेपालले त्यसलाई स्वागत गर्छ’, उनले थपे, ‘नेपाल बुद्ध जन्मेको देश हो, बुद्धिजम विश्व सम्पदा हो ।’

साथै उनले बिम्सटेकको सैन्य अभ्यास कुनै देशविरुद्ध नभई एकअर्कालाई फाइदा हुने गरी गर्न लागिएको समेत बताए । उनले भने, ‘कुनै खास रणनीतिक उद्देश्य हासिल गर्ने गरि गरिने गठबन्धन नेपालले सहयोग गर्दैन, जहाँसम्म लाग्छ यो सैन्य अभ्यासले सदस्य देशबीच मैत्रीपूर्ण भावना जगाउनेछ ।’

दुई दिन काठमाडौँमा आयोजना गरिएको बिम्सटेकको आजै १८ बुँदे घोषणापत्रसँगै समापन भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?