युएस ओपन टेनिस: फेडेरर र जोकोभिच तेस्रो चरणमा प्रवेश

अमेरिका । स्विट्जरल्याण्डका रोजर फेडेरर र सर्वियाली नोभाक जोकोभिच जारी युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । 

बिहीवार राति सम्पन्न भएको दोस्रो चरणको खेलमा स्विस फेडेररले फ्रान्सका बेनोट पेरलाई ३-० को सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेका हुन् ।

खेलको पहिलो सेटमा पेरले फेडेररलाई कडा टक्कर दिए । खेलको पहिलो सेट ७-५ ले जितेका फेडेररले त्यसपछिका बाँकी दुई सेटमा पनि जीत हात पारे । 

३७ वर्षे फेडेररले दोस्रो सेट ६-४ र अन्तिम सेट ६-४ ले आफ्नो पक्षमा पारेका थिए । यी दुई खेलाडीबीचको खेल १ घण्टा ५६ मिनेट चलेको थियो । अब तेस्रो चरणको खेलमा फेडेररले अस्ट्रेलियाका निक किर्गोससँग प्रतिस्पर्धा गर्नेछन् । 

त्यस्तै, शुक्रवार बिहान भएको अर्को खेलमा सर्बियाली नोभाक जोकोभिचले अमेरिकी टेनी स्यान्डग्रेनलाई ६-१, ६-३, ६-७ र ६-२ को निक्कै प्रतिस्पर्धात्मक सेटमा हराउँदै अघिल्लो चरणको यात्रा तय गरे ।

जोकोभिच खेलको तेस्रो सेटमा भने पराजित भएका थिए । जापानका केई निस्सीकोरीले फ्रान्सका गेइल मोन्फिल्सलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरे । 

बिहीवार राति नै भएका अन्य खेलहरुमा क्रोशियाका मारिन सिलिक, फ्रान्सका रिचार्ड ग्यासकुइट, जर्मनीका फिलीप कोहल्सहाइबेर र बेल्जियमका डेभिड गोफिनले आ-आफनो खेलमा जीत हात पादै तेस्रो चरणमा प्रवेश गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?