मोहन्यालका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट जडान गरिँदै

लोकपथ
234
Shares

टीकापुर । कैलालीको मोहन्याल गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा ‘ब्रोडव्याण्ड’ ईन्टरनेट विस्तार गरिने भएको छ । भौगोलिक रूपमा दुर्गम मानिएको मोहन्याल गाउँपालिका अन्तर्गतका ग्रामीण क्षेत्रका विद्यालयमा ईन्टरनेटको पहुँच पर्‍याउन लागिएको हो ।

गाउँपालिकाले बिना तारको ब्रोडव्याण्डको पहुँच सबै वडाका सामुदायिक विद्यालयमा विस्तार गर्न लागेको छ ।

ग्रामीण स्तरमा ईन्टरनेटको पहुँच पुर्‍याउन नेपाल टेलिकमको ग्रामीण दूर सञ्चार विकास कोष र गाउँपालिकाको सहकार्यमा ४५ वटा सामुदायिक विद्यालयमा शुक्रबार वितरण गरिएको छ ।

नेपाल दूर सञ्चार प्राधिकरण (ग्रामीण दूर सञ्चार विकास कोष) को प्रयोग गरि स्थानीय तह मार्फत ब्रोडव्याण्ड’ ईन्टरनेटको पहुँच पुर्‍याने कार्यलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा कक्षा १ देखि ३, १ देखि ५ र १ देखि ८ सम्म सञ्चालित सामुदायिक विद्यालयमा कम्तिमा २० एमबीपीएसको क्षमताको ब्रोडव्याण्ड’ ईन्टरनेट सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले शुक्रबार विद्यालयका प्रधानाध्यापकलाई ‘ब्रोडव्याण्ड’ ईन्टरनेट सामग्री वितरण गरेका छन् ।

पालिका अन्तर्गतका अधिकांश वडाहरु अझै बिजुली, टेलिफोन र ईन्टरनेटको पहुँच पुग्न सकेको छैन । गाउँपालिकाको केन्द्र खिमडीमै टेलिफोन र इन्टरनेट पहुँच पुग्न नसकेपछि गाउँपालिकाबाट सञ्चालन हुने प्रशासनिक काम प्रभावित हुँदै आएकका छन् ।

इन्टरनेट सेवा नभएपछि गाउँपालिका कार्यालय सारियो

इन्टरनेट सेवा नभएपछि कैलालीको मोहन्याल गाउँपालिकाको सम्पर्क कार्यालय घोडाघोडी नगरपालिकामा सारिएको छ । अस्थायी रुपमा गाउँपालिका कार्यालय स्थापना गरी कार्य सुचारु गरिएको हो । वर्षा सुरु भएसँगै गाउँपालिकाको कार्यालय जाने बाटो अवरुद्ध भएको र इन्टरनेट सेवा पनि नभएपछि नगरपालिकामा सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ ।

आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिकाको काम प्रभावित हुन नदिन नगरपालिकामा अस्थायी रुपमा कार्यालय राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताए । ‘गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको होइन । केही दिनलाई अस्थायी रुपमा नगरपालिकामा सारिएको छ’ उनले भने–‘वर्षात भएपछि गाउँपालिकाको कार्यालयमा इन्टरनेट सेवा पनि प्रभावित भएको छ र सडकहरू पनि अवरुद्ध भएका छन् ।’

उनले आर्थिक वर्षको मसान्तसम्म भएका विकास तथा अन्य कार्यक्रमहरुको भुक्तानी दिन अस्थायी रुपमा कार्यालय स्थापना गरिएको बताए । गाउँपालिकाको स्थायी कार्यालय रहेको सिमडी जाने बाटो वर्षात्का कारण अवरुद्ध भएको छ । ‘गाउँपालिकाका सबै काम गर्ने भनेर नगरपालिकामा कार्यालय राखिएको होइन । आर्थिक मसान्त सकिएलगत्तै नगरपालिकामा राखिएको कार्यालय बन्द हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?