बिम्सटेकको रिट्रिट शुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) शुरु भएको छ । 

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरुका जीवनसाथी पनि सहभागी भएका छन् ।  

बिम्सटेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरेका थिए। 

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरुका श्रीमती/श्रीमानलाई बेग्लै टेबलको व्यवस्था गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । खाजापछि केहीबेर व्यक्तिगत कुराकानी गर्ने र त्यसपछि सामूहित तस्वीर खिचाउने कार्यक्रम तय भएको छ ।

आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष/सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको छ । 

रिट्रिटलाई औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा प्रयोग गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?