बिम्स्टेक चौथो सम्मेलन, तामझामजस्ता छैनन् उपलब्धि

काठमाडौं-बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार (आज) सम्पन्न हुँदै छ ।निकै ठूलो तामझामका साथ काठमाडौंमा जारी शिखर सम्मेलनमा एउटा मात्र सहमतिपत्रमा हस्ताक्षर हुनेछ भने बिम्स्टेक काठमाडौं घोषणापत्र जारी गरेर समापन हुनेछ ।

बिम्स्टेकको उद्देश्य पूरा गर्न सबै सरकार र राष्ट्रप्रमुखहरूले प्रतिबद्धता जनाए पनि सम्मेलनमा उपलब्धि कम हुने देखियो । सम्मेलनमा एक विषयमा सहमतिपत्रमा हस्ताक्षर हुने बाहेक अन्य विषय घोषणपत्रमार्फत प्रतिबद्धता जनाइनेछ ।
बिम्स्टेक एजेन्डाको मस्यौदा तय गर्न मंगलबार बसेको सचिवस्तरीय बैठकबाट सदस्य राष्ट्रहरूबीच विद्युत् प्रसारण लाइनसम्बन्धी मस्यौदा पारित भएको थियो । सचिवस्तरीय बैठकले तयार पारेको उक्त मस्यौदा बुधबार बसेको मन्त्रीस्तरीय बैठकले पारित गरेको थियो । सहमतिलाई ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ नाम दिइनेछ । यो समझदारी कार्यान्वयन भएमा एक देशबाट अर्को देशमा ग्रिडहरू जोडिनेछन् । यसबाट क्षेत्रीयस्तरमा विद्युत् खरिद–बिक्रीका लागि बाटो खुल्नेछ । यसअघि सार्क राष्ट्रहरूबीच पनि यस्तो समझदारी भइसकेको छ तर प्रभावकारी कार्यान्वयन भने चुनौती बन्दै आएको छ ।
यसैलाई आजको बैठकमा नयाँ उपलब्धिका रूपमा पारित गरिने छ । कार्यतालिकानुसार बिहान ८ बजे होटल सोल्टीमै रिट्रिट हुनेछ । सम्मेलन १० बजेर ३० मिनेटमा औपचारिक रूपमा सुरु हुनेछ । मध्याह्न १२ बजे बिम्स्टेक शिखर सम्मेलन काठमाडौं घोषणापत्र पारित गरिनेछ । १२ बजेर २० मिनेटमा सामूहिक फोटो सेसनपछि पत्रकार सम्मेलन गरी सम्मेलन समापन हुनेछ । अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?