सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

काठमाडौं–तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको तीन महिना बितिसकेको छ ।
 तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् ।
संघीय संसद् सचिवालयले एकतापछि बनेको नेकपाको संसदीय दलका लागि भवन अभाव रहेको बताएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।
संसद् सचिवालय भवन नम्बर २ को चौथो तलामा यसअघि माओवादी केन्द्रको संसदीय दलको कार्यालय थियो । पूर्वएमालेको भने कानुन मन्त्रालय र रेडियो नेपालको बीचमा कांग्रेस संसदीय दलको कार्यालयसँगै जोडिएको थियो । दुवैतिर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड राखे पनि पूर्वएमाले सांसदहरू पूर्वमाओवादी दलको कार्यालयमा जाँदैनन् । त्यस्तै, पूर्वमाओवादीका सांसदहरू पनि पूर्वएमालेको संसदीय दलको कार्यालयमा भेटिँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?