द्वन्द्वकालमा बेपत्ता पारिएका बाह्र घर फर्किए

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएका जनाएको छ । 

आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा घर फर्किएका पाएका १२ व्यक्तिमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई रहेका छन् ।

त्यसैगरी, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका हुन् । 

आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको जानकारी दिए । उनले बेपत्ता व्यक्तिका पीडितले परिवारले राहतस्वरुप रु १० लाख लिइसकेको हुँदा त्यो पैसा फिर्ता गर्नुपर्छ कि भनेर फोन सम्पर्कसमेत गरिरहेका छन् । 

आयोगमा परेका तीन हजार १९७ उजुरी परेकामध्ये आयोगले विस्तृत अध्ययन गर्न तयार गरेको दुई हजार ५०० उजुरीमा ४३ जिल्लामा विस्तृत अध्ययन फारम भर्ने काम सम्पन्न भएको छ । उजुरीउपर छानबिनका लागि पीडित परिवारसँग भेट्ने क्रममा आयोगले ती व्यक्तिहरु घर फर्केको पाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?