बिम्सटेक सम्मेलनमा सम्बोधन गर्दै भावुक भइन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

काठमाडौं । काठमाडौंको सोल्टी होटलमा शुरु भएको चौथो शिखर सम्मेलनमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गरेकी छिन् । 

बिहीबारबाट काठमाडौंमा शुरु भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को चौथो शिखर सम्मेलन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले सामूहिक हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गरेकी हुन् ।

‘यो अगस्टको महिना हो । यो महिना मेरा लागि पीडादायी छ । १९७५ अगस्टमा मेरा बुवा बंगलादेशका निर्माता राष्ट्रपति शेख मुजिवुर रहमानसहित मेरी आमा र मेरा तीन दाजुहरुको हत्या भएको थियो,’ उनले भनिन्, ‘घटनाको पाँच वर्षसम्म म भारतमा शरण लिन बाध्य भएँ ।’ घटनामा आफ्नी बहिनीसँगै आफू बाँचेको उनले बताइन् ।

साथै उनले पछिल्लो समय आफ्नो कार्यकालमा बङ्लादेशले निकै राम्रो आर्थिक विकास गरेको बताइन् । ‘विश्व बैंकका अनुसार ४३ जीडीपी, ३२ पीपीपीको आधारमा, यही रफ्तारमा बङ्लादेशले विकास गरेमा सन् २०२१ मा बङ्ग्लादेश मध्यम आय भएको राष्ट्र र सन् २०४२ सम्म विकसित राष्ट्रमा पदोन्नती हुनेछ ’ हसिनाको विश्वाश छ ।

त्यस्तै बंगलादेशकी प्रधानमन्त्री हसिनाले आतंकवादीहरु प्रति शून्य सहनशिलताको नीतिमा रहेको भन्दै आफ्नो भुमि छिमेकीहरु विरुद्ध प्रयोग गर्न नदिने अठोट व्यक्त गरिन् । 

उनले विम्सटेकका केही सदस्यहरुबिच द्धिपक्षीय उर्जा विजुली सहमति भएकोमा सम्मान गर्दै यसलाई त्रिपक्षीय र क्षेत्रिय बनाउन सके आपसमा विकास बढ्ने विश्वास व्यक्त गरिन् । उनले विकाससँगै जनता–जनताबीच सम्पर्कलाई पनि आपसमा जोड्नसके विम्सटेक उदेश्य पुरा हुने धारणा राखिन् ।

सम्बोधनमा उनले संस्कृति र सार्वजनिक स्वास्थ्यका लागि बिम्स्टेकका सदस्य मुलुकले विशेष प्राथमिकता दिँदै जनतादेखि जनतासम्मको सम्पर्क विस्तार गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री हसिनाले आफ्नो मुलुकले कुल गार्हस्थ उत्पादनमा वृद्धि, सबैका लागि शिक्षाका लागि विशेष प्रबन्ध र सामाजिक एवंक आर्थिक सुधारका लागि कदम चालेको अवगत गराए । 

सम्मेलनको आयोजनाका लागि नेपाललाई आभार व्यक्त गर्दै १६मिनेट मन्तव्य दिनुभएका उनले प्रधानमन्त्री एवं बिम्स्टेकका अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य प्रेरणास्पद भएको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?