काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिम्सटेक)को चौथो सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं बिम्सटेकका अध्यक्ष केपी शर्मा ओलीले आज राजधानीमा आयोजित विशेष समारोहमा अपराह्न ४ बजे होटल सोल्टीमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुलाई स्वागत गर्दै आयोजित एक भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गरे ।
अध्यक्षको आसनबाट उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले बिम्सटेकको गहन एकीकरणको अपरिहार्यतामा जोड दिँदै शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध बिम्सटेक क्षेत्र बनाउन सबै सदस्य मुलुकबाट आवश्यक प्रयास हुने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपालसहित सात वटै सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख सहभागी भएका छन् । शिखर सम्मेलनमा म्यान्मारका राष्ट्रपति विन मिन्त र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आ–आफ्नो मुलुकको प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् ।
त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा नेतृत्वको प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी भएको छ ।

सम्मेलनमा कायममुकायम प्रधानन्याधीश, सङ्घीय संसद्का सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, बिम्सटेकका महासचिव, नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत उपस्थित छन् ।

सम्मेलनबाट ऊर्जा, व्यापार तथा अप्टिकल फाइबर लगायतमा अन्तरदेशीय सम्पर्क स्थापना गर्ने, बिम्स्टेकको बडापत्र निर्माण गर्ने, आतंकवाद नियन्त्रणमा ठोस कदम चाल्ने, सदस्य राष्ट्रहरुका जनस्तरमा सम्पर्क वृद्धि गर्ने कार्यक्रम ल्याउने लगायत विषयमा छलफल हुनेछ । सम्मेलन शुक्रबार समापन हुनेछ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया