भीभीआईपीको सवारी, जनतालाई सास्तीको भारी

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास बिम्सटेक आजदेखि शुरु भएको छ । बिम्सटेकको चौथो शिखर सम्मेलनमा भाग लिन सदस्य राष्ट्रका सबै भीभीआईपी पाहुना काठमाडौं आएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज काठमाडौं आइपुगेका छन् ।

विशिष्ठ अतिथिहरुलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । बिम्सटेकको चौथो शिखर सम्मेलन आज अपराह्न विशेष समारोहका साथ हुनेछ । नेपालका प्रधानमन्त्री एवम् बिम्सटेकका अध्यक्ष केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनमा अध्यक्ष ओलीपछि अन्य राष्ट्रका सरकार प्रमुखहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बिम्सटेकले जनतालाई सास्ती

काठमाडौंमा झण्डै महिना दिनदेखि तयारी भइरहेको बिम्सटेकका कारण सर्वसाधारणले सास्ती बेर्होनुपरेको छ । काठमाडौंका विद्यालय तथा कलेजमा सार्वजनिक बिदा दिइएको छ भने जोर र विजोर प्रणालीका आधारमा सवारीसाधन चल्न दिइएको छ ।

काठमाडौंका मुख्य सडकमा प्रहरीले जनतालाई बाटो काट्न पनि दिएको छैन भने भीभीआईपीको रुटलाई खाली गरिएको छ । १३ र १५ गते विजोर तथा १४ गते जोर  नम्बरका सवारी चल्न पाउने भनिए पनि सर्वसाधारण सवारी नपाएर हैरान भएका छन् ।

बाटो खुला छ तर धूलो व्यापक 

सरकारले भीभीआईपी जाने मुख्य सडकमा सर्वसाधारणलाई उभिन पनि नदिएर बाटो ‘क्लिन’ गरेको छ । भीभीआईपी हिँड्ने सडकलाई रंगीन बनाइएको छ ।

होर्डिङ बोर्डदेखि पुराना पुलमा ब्यानर टाँसेर टलक्क टल्किने बनाइएको छ । बाटो पनि बढारिएको छ । तर भीभीआईपीका सवारी गुड्दा धूलो उड्न भने छोडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?