जीविकोपार्जनका लागि गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण

लोकपथ
104
Shares

सुर्खेत । दैलेखको नारायण नगरपालिका-३ कालिमाटीका गारिब तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिब तथा विपन्न घर परिवारको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो ।

कर्णाली प्रदेश सरकार, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखको बाख्रा ब्लग कार्यक्रमअन्तर्गत छनोट गरिएको २० परिवारलाई बाख्रा दिइएको हो । प्रतिपरिवार घर १० वटा बाख्रा अनुदान उपलब्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए ।

आर्थिक अवस्था कमजोर भएका बिपन्न परिवारहरूलाई लक्षित गरी बाख्रा ब्लग कार्यक्रमको पहिलो चरणमा १८ किसानले कुल ६३ वटा बाख्रा वितरण गरिएको छ भने लगत्तै थप एक सय ३७ वटा बाख्रा वितरण गरिने छ ।

किसानको लागत साझेदारीमा किसानलाई बाख्रासँगै व्यवस्थित खोरको लागि कुल ४६ हजार नगदसमेत उपलब्ध गराएको छ । बाख्रा ब्लग कार्यक्रमअन्तर्गत किसानले २५ प्रतिशत साझेदारी गरेका छन् भने कार्यक्रमले ७५ प्रतिशत अनुदान उपलब्ध गराएको छ । हरेक बाख्रा पालक कृषकले अनुदानमा प्राप्त १० बाख्रा र आफ्नो १० गरी २० वटासम्म बाख्रा पाल्न सकिने गरी खोरसमेत निर्माण गरिएको छ ।

बाख्रा वितरण कार्यक्रममा वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्ट, पत्रकार महासंघका अध्यक्ष यज्ञराज थापाकोलगायतको उपस्थिति थियो । अनुदानमा बाख्रा पाएका किसानहरूले बाख्रा पालन व्यवसायबाट मनग्य आम्दानीसँगै जीविकोपार्जनमा सहयोग पुग्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?