लोसपाले बोलायो कार्यकारिणी समितिको बैठक

लोकपथ
52
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो ।

बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठन गठनलगायत अन्य समसामयीक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।

कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्ण संयोजक रहेको समितिले पार्टी विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेको छ । सो विधानको मस्यौदामाथि शीर्ष नेताको बीचमा छलफल पनि भइसकेको छ । त्यसलाई कार्यकारिणी समितिबाट पास गराई निर्वाचन आयोगमा बुझाउने बताइएको छ ।

केन्द्रीय समिति सदस्यको नाम संकलन गर्ने कार्य पनि भइरहेको छ । प्राप्त नाममा सहमति जुटाउनका लागि कार्यकारिणी समितिमा छलफल हुने बताइएको छ । त्यस्तै भ्रातृ संगठनको नाम तय भइसकेको छ । त्यसको संगठन निर्माणका लागि पनि छलफल हुने बताइएको छ ।

त्यसका साथै सरकारलाई बुझाएको ज्ञापनपत्र अझै कार्यान्वनमा नआएको सन्दर्भमा यसबारे बैठकमा छलफल हुने अरगरियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?