यसरी रोकिन सक्छ जसपाको विभाजन !

लोकपथ
3.3k
Shares

काठमाडौं । तत्कालिन समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) को एकीकरणबाट बनेको जनता समाजवादी पार्टी (जसपा) यतिबेला फुटको संघारमा पुगेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको टकरावको कारण पार्टी विभाजनको अवस्थामा पुगेको हो ।

बुधबार राती यादव र भट्टराईबीच सहमतिमा नै छुट्टिने विषयमा दुवै नेताहरु लचक भएका छन् ।

यादवले मन्त्री पठाउँदा एकलौटी गरेको, राष्ट्रिय सभामा आफ्ना मान्छे मात्र पठाएको र स्थानीय निर्वाचनमा समेत आफ्ना मान्छेलाई मात्र टिकट दिएको भन्ने आरोप भट्टराई पक्षको रहेको छ । भने भट्टराईले आफूहरुलाई काम गर्न नदिएको भन्ने आरोप यादव पक्षको रहेको छ ।

स्थानीय निर्वाचनबाट थप चिसिएको सम्बन्धले पार्टी फुटको संघारमा पुगेको र अब केही कारण बाहेक जसपा एक रहन नसक्ने भट्टराई निकटका एक नेताले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार यादव पक्षले बोलाएको केन्द्रीय कमिटी बैठक अघि नै भट्टराई पक्षले केही नेताहरुलाई मिलाउन सकेमा पार्टी विभाजनबाट रोकिन सक्छ ।

जसपाले मन्त्रीको रुपमा सरकारमा पठाउन लागिएका केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद ईस्तियाक राई र केन्द्रीय सदस्य प्रदिप यादवलाई मिलाउन सकेमा अझै पार्टी विभाजन रोकिने ती नेताको दाबी रहेको छ ।

हालका वनमन्त्री रामसहाय प्रसाद यादव र कृषिमन्त्री महिन्द्रराय यादवलाई फिर्ता बोलाएर यादव र राईलाई मन्त्रीमा पठाउने तयारी भइरहेको छ ।

‘हालका दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने तयारी भइरहेको छ । जसको कारण पनि पार्टीभित्रको विवाद थप चुचुरोमा पुगेको र फुटको अवस्थामा पुगेको हो ।’ उनले भने ।

विभाजनको अन्तिम अवस्थामा पुगेको जसपाको यादव पक्षले आगामी असार २७ र २८ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । भट्टराई पक्षले पनि छलफलका लागि बैठक बोलाउन सक्ने बताइएको छ । त्यसबीचमा राई र यादवसँग छलफल गर्न सकेको अवस्थामा भने पार्टी विभाजन तत्कालको लागि रोकिने ती नेताको दाबी रहेको छ ।

‘उता (उपेन्द्र यादव) पक्षले केन्द्रीय कमिटी बैठक बोलाउनुभएको छ । यता पक्षको पनि बैठक बोलाउने विषयमा छलफल भइरहेको छ । तर त्यसबीचमा दुई नेताहरु (यादव र राई) लाई मिलाउन सकेमा पार्टी विभाजनबाट रोकिन सक्छ। तर त्यो सम्भावना अलि कम नै देखिन्छ ।’ उनले लोकपथसँग भने ।

यादव पक्षले हाल पार्टीबाट सरकारमा सामेल ४ मध्ये २ मन्त्री परिर्वतन गर्ने तयारी गरेको छ । तर यातायातमन्त्री रेणु यादव र सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई यथावत राखेर अन्य दुई मन्त्रीलाई फिर्ता बोलाउन लागेको कारण पनि केही समस्या देखिएको ती नेताको भनाइ रहेको छ ।

यता पार्टी विभाजन हुने भएसँगै संघीय परिषद् अध्यक्ष डा. भट्टराई अन्य दलहरुसँगको छलफलमा व्यस्त देखिन थालेका छन् । बिहीबार मात्रै डा. भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाट गरेका छन् । भने यता सरकारमा सामेल दल एकीकृत समाजवादीसँग समेत छलफल गर्ने तयारीमा भट्टराई रहेका छन् ।

२०७६ साल वैशाख २३ गते उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबीच एकीकरण भइ समाजवादी पार्टी भएको थियो ।

पुनः २०७७ साल वैशाख ११ गते तत्कालिन महन्थ ठाकुरले नेतृत्व गरेको राष्ट्रिय जनता पार्टी (रापजा) र उपेन्द्र बाबुरामले नेतृत्व गरेको समाजवादी पार्टी एकीकरण भइ हालको जनता समाजवादी पार्टी (जसपा) निर्माण भएको थियो । तर पार्टी भित्रको आन्तरिक विवादपछि महन्थ ठाकुरसहितका नेताहरुले पार्टीबाट अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?