भारतीय स्वार्थमा उठदै गरेको बिम्सटेक

काठमाडौ : बंगालको खाडी निकटका देशहरूको आपसी सहयोग र विकासको साझा मञ्चको रूपमा स्थापित क्षेत्रीय सहयोग संगठन 'बिम्सटेक'को चौथो शिखर सम्मेलन नेपालको राजधानी काठमाडौमा आयोजना गरिएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का केही प्रभावशाली सदस्य राष्ट्रहरूको सहभागीतामा 'बिमस्टेक' स्थापित छ ।

भारतका लागि बिमस्टेक भूआर्थिक, भूरणनीतिक र भूराजनीतिक लाभको सम्भावना समकालीन बदलिदो विश्व राजनीतिक परिवेशले प्रचुररूपमा बढाएको देखिएको छ ।

भारतको विदेश नीति र स्वार्थहरूलाई यसले सेवा गर्ने भएर भारतीय सत्ता बिमस्टेकलाई शक्तिकृत गर्न खोजेको देखिएको विज्ञहरूको बुझाइ रहेको पाइन्छ ।

१.५ अर्ब मानिसहरूको बसोबासको क्षेत्रको रूपमा बिमस्टेक रहेको छ । यसमा बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्यन्ड, नेपाल र भुटान सदस्य राष्ट्रको रूपमा छन् । बिमस्टेकले स्थापनाको दुई दशक पूरा गरिसकेको छ ।

विश्वको कुल जनसंख्याको यो २० प्रतिशत भन्दा बढी हो । यस क्षेत्रको कुल गार्हस्थ उत्पादन(जीडीपी) २.५ ट्रिलियन अमेरिकी डलर बराबर भन्दा बढी रहको छ । यो क्षेत्रको जीडीपी बृद्धि दर करिब ६ प्रतिशतको हाराहारीमा छ ।

बिमस्टेकको पहिलो शिखर सम्मेलनमा २००४मा थाइल्यान्डमा आयोजना भयो । पहिलो शिखर सम्मेलन स्थापनाको साता वर्ष पछि भयो भने दोस्रो सन् २००८मा भारतमा भयो भने त्यसको ६ वर्ष पछि सन् २०१४मा म्यानमारमा भयो । त्यतिबेला यसको स्थायी सचिवालय ढाकामा स्थापित गरियो ।

जुन १९९७मा  शुरूवातमा यो बंगलादेश, भारत, श्रीलंका र थाइल्यान्ड गरी चार सदस्यले बिस्टेक भनेर स्थापना गरिएको थिए । तर सोही वर्ष डिसेम्बरमा यसको नाम फेरेर बिमस्टेक बनाइयो । सन् २००४मा नेपाल र भुटान सहभागी भएपछि यसलाई बे अफ बंगाल इन्सिएटिभ फल मल्टि सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोपरेशन वा बिमस्टेक भनेर स्थापित गरियो ।

सात देशको यो संगठनले सन् २००४मा सहयोगका १४ प्राथमिकताहरू पहिचान गरी स्वतन्त्र व्यापार सम्झौता २००४मा हस्ताक्षर ग-यो । सन् २००९मा अन्तर्राष्टि आतंकवाद,संगठित अपराध र अवैध लागु औषधिको ओसार प्रसार विरूद्धको लडाई लडन एक क्षेत्रीय अभिसन्धीमा यी राष्ट्रहरूले हस्ताक्षर गरे ।

डा. साम्पा कुन्डुले जनाए अनुसार बिमस्टेकका लागि विद्यमान अवस्थामा जनता जनताबीचको सम्पर्क विस्तार गर्न डिजिटल टेक्नलजिको विकास गर्ने सम्भावना छ । ऊर्जा र क्षेत्रीय व्यापार प्रबद्र्धनको क्षेत्रमा लगानीको ठूलो सम्भावना यो क्षेत्रले बोको छ ।

तर दुईपक्षीय तनावका कारण सार्कले अपेक्षित गति लिन नसकेको जस्तो बिमस्टेकको स्थिति पनि त्यस्तै देखिएको छ । थाइल्यान्ड र म्यानमारले आसियानको पक्षपोषण गर्दा बिमस्टेकलाई उपेक्षा गरेको आरोप पनि लाग्ने गरेको पाइन्छ ।

बिमस्टेक त्यतिखेर जन्मियो जतिखेर आसियानका सदस्य राष्ट्रहरू गम्भीर वित्तीय संकटमा फसेका थिए । त्यसपछिका दशकहरूमा थाइल्यान्ड र म्यानमारमा राजनीतिक उथलपुथल भएको देखियो ।

बिमस्टेकको २०औं वार्षिकोत्सवको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेकका लागि धेरै महत्वपूर्ण क्षेत्रीय मञ्चको रूपमा व्यक्त गरे । भारतका महत्वपूर्ण विदेश नीतिका प्राथमिकताहरूको सेवा गर्न बिमस्टेक एक स्वाभाविक मञ्चकको रूपमा उपक्षेत्रीय समूहको रूपमा स्थापित भएको मोदीले टिप्पणी गरे ।

‘छिमेकी प्रथम’ र ‘पूर्वमा गर’ दुई विदेश नीतिका प्राथमिकतालाई पूरा गर्न भारतका लागि बिमस्टेक महत्वपूर्ण भएको मोदीले सन्देश दिएपछि यसमा एक पटक फेरि ताकत प्राप्त भएको छ ।सन् २००२ देखि २०१४को बीचमा बिमस्टेकका सदस्य राष्ट्रहरूबीचको अन्तरदेशीय व्यापारको बृद्धि धेरै कम देखिएको छ । 

भारतका लागि सार्क भन्दा बिमस्टेक महत्वपूर्ण हुनुको पछाडि दुई प्रमुख कारण छन् । पहिलो भारत र पाकिस्तानबीचको आपसी दुईपक्षीय सम्बन्ध सुधार भएन भने सार्कले अपेक्षित गति लिन सक्ने सम्भावना न्यून छ । अर्को सार्कमा चीनले ढोका ढकढकाइ रहेको  छ ।

नेपालमा भएको सार्क शिखर सम्मेलनमा चीनलाई ल्याउनुपर्ने माग पाकिस्तानबाट भएको थियो । बिमस्टेकले गति लियो भने नेपाललाई पाकिस्तानसँगको दुई पक्षीय आर्थिक सम्बन्धको विस्तारमा गति लिनबाट रोक्न सकिन्छ ।

भारतले ‘पूर्वलाई हेर’ र ‘पूर्वमा गर’ भन्ने विदेश नीति बनाउनुको पछाडि पाकिस्तानलाई एक्ल्याउनु रहेको छ । त्यसैले बिमस्टेकले चीन र पाकिस्तानसँगको प्रतिस्पर्धामा भारतका भूआर्थिक, भूरणनीतिक र भूराजनीतिक स्वार्थहरूको सेवा गर्नेमा शंका छैन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?