बेनीमा विधुत तार व्यवस्थापन

म्याग्दी : सदरमुकाम बेनीमा विद्युत्को तार व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले एबिसी केबुलमार्फत सुरक्षित र व्यवस्थितरूपमा विद्युत् वितरण गर्न लागेको प्राधिकरणका बेनी शाखा प्रमुख नेत्रमणि न्यौपानेले बताए। 

केबुल प्रविधिबाट विद्युत् वितरण गर्दा विद्युतीय दुर्घटनाको जोखिम घट्नुका साथै विद्युत् चोरीसमेत नियन्त्रण हुने जनाइएको छ । नाङ्गो तारमा छोए करेन्ट लागेर दुर्घटना हुने भएकाले वितरण प्रणालीलाई सुदृढीकरण र व्यवस्थित गर्न लागिएको केन्द्रका सहायक इञ्जिनीयर कृष्णप्रसाद शर्माले जानकारी दिए । 

बेनीमा १२ किलोमिटरसम्म एबिसी केबुलबाट विद्युत् वितरण गरेर नाङ्गो ताररहित बनाइने प्राधिकरणले जनाएको छ । नाङ्गो तारभन्दा यो तार बढी तौलको हुने भएकाले पहिले पोल रहेका ठाउँको बीच–बीचमा थप पोल राख्न लागिएको छ । बजार क्षेत्रमा एक सय थप पोल राखिने प्राधिकरणले जनाएको छ । 

यसैबीच बजारको केही ठाउँमा विद्युत्को पोल गाड्न स्थानीयबासीले अवरोध गरेका छन् । आफ्नो घर अगाडि पोल गाड्न नदिने केही स्थानीयवासीको अडान र विरोधका कारण गणेशटोल र पिपलचोक क्षेत्रमा पोल गाड्ने काम अघि बढ्न सकेको छैन । बजारका अन्य क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ । 

बेनपा–८ का वडाअध्यक्ष रामकृष्ण बराइलीले एबिसी केबुलबाट वितरण गर्ने प्राधिकरणको योजनालाई सफल बनाउन विवाद समाधानका लागि सहजीकरण गरिने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?