बालकोटमा ओलीलाई वामदेवको त्यो आग्रह

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

नेकपा विभाजन भएसँगै लामो समयपछि गौतमले ओलीसँग भेटघाट गरेका हुन् ।

बिहीबार दिउँसो ओली भेट्न नेता गौतम आफ्ना योजनासहित ओलीनिवास बालकोट पुगेका थिए ।

भेटघाटका क्रममा गौतमले नेपालमा वाम एकताको खाँचो रहेको र त्यसको लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए । गौतमले वाम एकता गरि ठूलो दलको अध्यक्ष बन्नका लागि आग्रह समेत गरेको ओलीका प्रेस विज्ञ रामशरण बजगाँइले लोकपथलाई जानकारी दिए ।
गौतम र ओलीबीच करिब २ घण्टा कुराकानी भएको जसमा नेकपा विभाजन, वाम एकता र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको उनले बताए ।
‘उहाँ आउनुभएको थियो । करिब २ घण्टा जति छलफल भयो । त्यसमा तत्कालिन नेकपा विभाजन, वाम एकतासहित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल भएको छ ।’ बजगाँइले लोकपथसँग भने ।

के उहाँ (गौतम) ले वाम एकता गरेर ठूलो दलको अध्यक्ष बन्नका लागि आग्रह गर्नुभयो ? भन्ने लोकपथको प्रश्नमा बजगाइँले भने, ‘उहाँ वाम एकता गर्न हिड्नुभएको मान्छे, आग्रह गर्नु स्वभाविक हो ।’

त्यसैगरी नेकपाको विवाद हुने बेलामा गौतमसहितका नेताहरुले साथ नदिएको विषयमा ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । निर्वाचित अध्यक्षलाई अवैधानिक तबरले हटाउने कसरतका विषयमा गौतमसँग ओलीले असन्तुष्टि थियो ।
सोही विषयमा भएको छलफलबारे बताउँदै बजगाँइले भने, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउने जुन कसरत भएको थियो । त्यसको बारेमा पनि अध्यक्षज्यूले समीक्षा गर्नुभएको छ । तत्कालिन नेकपालाई जोगाउने विषयमा आफ्नै नेताहरुबाट साथ नपाएको विषयमा समेत छलफल भएको छ ।’

ओलीले नेपालमा वाम एकता आवश्यक रहे पनि मौका पाएको बेलामा आफू बन्ने बेलामा मात्रै त्यसको औचित्य देख्ने प्रवृत्तिले एकतामा असर पुर्याउने बताए ।

२०७७ साल फागुन २३ को सर्वोच्चको फैसला अनुसार तत्कालिन नेकपाको एकता विभाजन भएको थियो । पूर्व एमाले र पूर्व माओवादीमा विभाजित भएको थियो । यता नेता गौतम भने केही बैठकहरुमा ओलीसँग देखिए पनि नेकपा विभाजनलाई जोगाउन भन्दै अभियान सञ्चालनमा थिए ।

केही समयपछि एमाले पार्टीबाट समेत राजीनामा दिएका उनले गत मंगलबार नेकपा एकता राष्ट्रिय अभियानलाई पार्टीमा रुपान्तरण गरी ६९ सदस्यीय कमिटी समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?