विदेशी लगानीको पक्षमा प्रचण्डको बोली : ‘बिरालो कालो वा सेतो जस्तो भएपनि त्यसले मुसा मार्नुपर्छ’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा विरोध गरेपनि अहिले आफू विदेशी लगानीको पक्षमा रहेको खुलासा गर्नु भएको छ । निर्माण व्यवसायी संघ चितवनको २५ औँ साधारण सभालाई आज बुधबार चितवनको भरतपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो खुलासा गरेका हुन् । 

‘चीनमा पनि विकास गर्दा विदेशी लगानी ल्याउने कि नल्याउने भन्ने बहस भएको थियो । एकथरीले ल्याउनु पर्छ भन्थे, अर्कोथरीले ल्याउनु हुँदैन भन्थे’ अध्यक्ष प्रचण्डले भने, ‘एक जमानामा हामी पनि विदेशी लगानी हुनु हुँदैन भन्ने लाइनमा थियौँ । अहिले हामी विदेशी लगानी चाहिन्छ भन्ने लाइनमा छौँ । निजी वा सरकारी जसले गरेपनि राम्रो काम हुनुपर्छ । बिरालो कालो वा सेतो जस्तो भएपनि त्यसले मुसा मार्नुपर्छ ।’ विकासको काम सरकारले नै गर्नुपर्छ भन्ने नभएको र निजी क्षेत्रले पनि विकासमा हातेमालो गर्न सक्ने धारणा सुनाउँदै अध्यक्ष प्रचण्डले बिरालोको प्रसंग जोड्नु भएको थियो ।

‘सरकारले कर लगाउँछ, लगाउनु पनि पर्छ, तर कर लगाउँदा हास्यास्पद भने हुनु भएन’ पछिल्लो समयमा करको बारेमा उठेका प्रश्नहरुप्रति केन्द्रित हुँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, अन्य सेवा र सुविधा पनि दिनुपर्ने तर कर बढाउन नपाइने हो भने कसरी काम हुन्छ ? विदेशीसँग भीख मागेर ती काम गर्ने ? मुख्य कुरा भनेको जनतामा पनि कर तिर्ने संस्कारको विकास हुनुपर्छ ।’

निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले नेपालमा कर्मचारीतन्त्र नै विकासको बाधक बनेको टिप्पणी गरे । ‘हामी फटाहा हौँ भने कारबाही भोग्न तयार छौँ । कसले हामीलाई फटाहा बनायो ? तिनीहरुलाई पनि कारबाही गरियोस्’ उहाँले भने, ‘डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार नहुँदैे ठेक्का सम्झौता गराउने, मन्त्रालयको सचिवले साइनिङ अमाउण्ट (ठेक्का स्वीकृतिवापतको रकम) लिने अनि काम समयमै सकिएन, गुणस्तर भएन भनेर हामीलाई कारबाही गर्ने ?’

प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासबाट देशलाई समृद्ध बनाउन सकिने बताए । प्रदेश नम्बर तीनका कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले एक ठाउँमा कर तिरेपछि अन्यत्र तिर्न नपर्ने गरी तीन नम्बर प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । साधारण सभा उद्घाटन समारोहमा चितवनको इच्छाकामना गाउँपालिका मझवाङमा रहेको राष्ट्रिय कालिका माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । यस्तै, निर्माण व्यवसायीको परिवारबाट एसईई परीक्षामा राम्रो अंक ल्याउन सफल कृषा लामिछाने, अनिषा कँडेल र प्रवीण पौडेललाई पुरस्कृत गरिएको थियो ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा महासंघका महासचिव रामशरण देउजा, सल्लाहकारत्रय रमेश शर्मा, यज्ञध्वज कार्की र शिवप्रसाद भट्टराईले निर्माण क्षेत्रमा गलत काम हुनुमा २५ प्रतिशत निर्माण व्यवसायी र ७५ प्रतिशत सरकार जिम्मेवार रहेको बताएका थिए । संघका प्रथम उपाध्यक्ष उमानन्द कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा नेताद्वय इश्वरी भट्टराई र तेजेन्द्र खड्काले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?