आजदेखि पहिलो मधेस प्रदेश युवा महोत्सव सुरु, युवाहरुलाई प्रदेशको विकासमा जोड्ने लक्ष्य

लोकपथ
39
Shares

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ देशमै पहिलोपटक प्रदेश महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले युवा महोत्सव आयोजना गरेको हो। महोत्सवको उद्‌घाटन मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा बुधबारदेखि सुरु भएको महोत्सव बिहीबारसम्म चल्नेछ । महोत्सवमा मधेस मन्धन, मधेस जागरण, मधेस हटिया, सांस्कृतिक साँझ, मधेसका मान हुनेछ। बिहीबार घोषणा पत्र सार्वजनिक गरिनेछ ।

खेलकुद मन्त्रालयका सचिव केशव प्रसाद विमलीले युवाहरूको बाहुल्य रहेको प्रदेशमा यो कार्यक्रमले जोश, जाँगर र उत्साह प्रदान गर्ने बताए। उनले महोत्सवमा युवाहरूसँग सम्वाद गरेर घोषणापत्र जारी हुने र घोषणापत्रले युवाहरूमा एउटा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

युवा अभियन्ता प्रतिभा मण्डलले महोत्सवले युवाहरुका लागि प्लेटफर्म खोलेको बताइन्। उनले आफूले बालबिबाहविरुद्ध अभियान चलाएको स्मरण गर्दै भनिन्, ‘बालविवाह रोक्न पहिले दलहरूले दबाब दिन्थे। अहिले स्थानीय तहको जनप्रतिनिधि र कर्मचारीले जन्मदर्ता नै संशोधन गरिदने विकृति बढ्यो।’

उनले हरेक वडामा बाल क्लब गठन हुनुपर्ने माग गरिन्। ‘यो महोत्सवले प्लेटफर्म खोलेको छ। यसलाई थप प्रभावकारी बनाउँदै लानुपर्छ,’ उनले भनिन्।

युवा अभियन्ता एवं नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुरले युवाहरु परिवर्तनको संवाहक भएकाले निर्णायक तहमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखे। काठमाडौंमा बालेन्द्र शाह मेयर हुनु परिवर्तन भएको र यो मधेसमा पनि हुनुपर्नेमा उनको जोड थियो। उनले राजतन्त्रविरुद्ध सुरुमा गगन थापाको युवा समूह बोलेको र पछि दलहरु संघर्षमा आउन बाध्य भएको स्मरण गर्दै युवाको उर्जा र हिम्मतलाई प्रदेश सरकारले सहि ठाउँमा सदुपयोग गरे देश र प्रदेश समुन्नत हुने विश्वास व्यक्त गरे। महोत्सवले युवाहरुमा जागरण ल्याउने, क्षमता बढाउने बताउँदै ठाकुरले प्रदेश सरकारले पनि थप प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए।

प्रदेशसभा सदस्य मञ्जु यादवले महोत्सव सकारात्मक सुरुवात भएको बताइन्। उनले अविलम्ब युवा परिषद् र खेलकुद परिषद् गठन गर्न माग गरिन्। ‘अविलम्ब युवा परिषद् गठन होस्। प्रदेश सरकारले पहलकदमी लेओस्। बागमतीले खेलकुद परिषद् गठन गरिसकेको छ। यहाँबाट यथाशक्य चाँडो गठन होस्। बजेटको कुनै कमी छैन। खेलकुदमन्त्रीजीले अग्रसरता लिनुपर्छ,’ उनले भनिन्। उनले बालेन्द्र र हर्क साम्पाङहरु मधेसमा जन्मिनुपर्ने र त्यसका लागि प्रदेश सरकारले वातावरण बनाउनुपर्ने माग गरिन्। ‘बालेन र हर्क साम्पाङहरु जस्ता युवाहरु मधेसमा किन साहस गर्दैनन्,’ उनले प्रश्न गरिन्।

सांसद यादवले समृद्ध मधेस आफूहरुका लागि चुनौती भएको पनि बताइन्। ‘नेतृत्वले तदारूकता देखाउन जरूरी छ। सीताले प्राचीनकालमै आफै वर चुनेर परिवर्तनको सुरूवात गरेकी थिइन्। बाल विवाह नियन्त्रण गर्न हाम्रो सोंचमै परिवर्तन जरूरी छ,’ उनले भनिन्।

उनले महिला मन्त्रालयमा पुरुष मन्त्री भएकोमा पनि असन्तुष्टि जनाइन्। उनले महिला मन्त्रालयमा महिला मन्त्री सुनिश्चित गर्न माग गरिन्। ‘मन्त्रालयको नाम महिला बालबालिका छ। मन्त्री पुरूष हुन्छन्। महिला नै हुने व्यवस्था हुनुपर्छ,’ उनले माग गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गृह तथा सञ्चारमन्त्री भरत साहले प्रदेश सरकार ल्याउन, मधेस आन्दोलन सफल पार्न युवाले अग्रस्थानमा भूमिका खेलेको बताए। अब फेरि युवा समृद्धिका लागि उठ्न जरूरी रहेको उनको भनाइ थियो। ‘विद्रोहलाई निष्कर्षमा पुर्‍याएको संघीयतालाई बलियो बनाउनका लागि युवाहरू जाग्न जरूरी छ,’ उनले भने।

खस अहंकारबाट ग्रसित भएर केन्द्र सरकारले अधिकार नदिएकोमा आक्रोश पोख्दै उनले अधिकार पाउन फेरि एकपटक युवाहरु जनता सडकमा आउनुपर्ने बताए। ‘प्रदेश सरकारले जसरी गति लिन चाहेको थियो, त्यसमा संघ सरकार बाधक बन्यो। प्रदेश प्रहरीको अधिकार दिन खोजेको छैन,’ उनले भने, ‘संघीयता फापेन, विकासलाई दिशा दिन सकेन भनेर संघीयताविरोधीले निराशाको अवस्थामा पुर्‍याउन खोजेका छन्, त्यसलाई युवाहरू मिलेर निरूत्साहित पार्नुपर्छ।’

मन्त्री साहले युवाको हकमा उमेरभन्दा विचार प्रधान हुने जिकिर गरे। ‘चाहे त्यो वयश्यक र वृद्ध नै किन नहोस्। विचारले पनि युवाको निर्धारण गर्छ,’ उनले भने। पछिल्लो समय युवाहरू गलत बाटोमा लाग्नु, कुलतमा फस्नु चुनौती रहेको उनको भनाइ थियो। ‘नाकाहरूबाट लागुऔषध सेवन र बोकेर आउने। अनि दुर्घटनामा पर्ने अवस्था छ। ती युवाहरूलाई देशको मूलधारमा ल्याउने, कुलतबाट कसरी बचाउने चुनौती छ,’ उनले भने।

मन्त्री साहले प्रदेशस्तरीय सुधार केन्द्र बनाउन सुरू गरेको पनि जानकारी दिए। ‘महोत्तरीमा निर्माण भइरहेको छ। निजी स्तरको सुधार केन्द्र महंगो हुने भएकाले सरकारले स्वामित्व लिनुपर्छ भनेर अगाडि बढेका छौं। युवाहरूलाई रचनात्मक बनाउनेगरी आएको महोत्सव प्रभावकारी हुनेछ,’ उनले भने।

महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले युवा प्रेरणाको स्रोत भएको र समुन्नत मधेस प्रदेश बनाउन सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए।

मुलुकलाई सहि ट्रयाकमा ल्याउन युवा जागरुक हुनुपर्ने उनको भनाइ थियो। ‘तर युवा खाडीमा छन्। रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा टेवा पुर्‍याएका छन्। हामीले रोक्न प्रयत्न गरेका छौं। प्रहरीमा यहाँका युवालाई भर्ना, कर्मचारी भर्ना गर्न खोजेका छौं। तर सरकारी सेवामा सीमितता छ। उद्योग, कलकारखाना, कृषि क्षेत्र महत्त्वपूर्ण हो। तर हाम्रो सीमितता छ। सोचेअनुसार उत्पादन गर्न सकेका छैनौं। पर्यटनमा पनि सकेका छैनौं। केन्द्र सरकारको अस्पष्ट नीतिले घरखेत बन्धकी राखेर युवाहरू पलायन भइरहेका छन्। युवालाई रोक्न चाहन्छौं। धार्मिक पर्यटनको सम्भावना छ। यो सबैमा युवाको साथ चाहिन्छ। अग्रसरता चाहिन्छ। युवाहरुको योगदान महत्वपूर्ण हुन्छ,’ उनले भने।

परिवर्तनमा लागि युवाहरू लडेको भन्दै मुख्यमन्त्री राउतले अब विकास समृद्धिका लागि लड्नुपर्ने आह्वान गरे। ‘विकसित र समृद्ध प्रदेश बनाउन युवा जागृत हुनुपर्छ,’ उनले भने, ‘युवाले सहि राजनीति र गलत राजनीति पहिचान गर्नुपर्छ। तब राष्ट्र बन्न सक्छ।’
महोत्सवले युवालाई जागरुक र प्रेरणा दिन सहयोग गर्ने उनले विश्वास लिए। ‘युवा र खेलकुद परिषद् गठनमा ढिलाइ भएको छ। विधेयक तयार छ। सदनमा लगेर पास गरेर ऐनका रूपमा ल्याउँछौं,’ उनले भने।

उनले महिला नै मन्त्री हुनुपर्ने सांसद यादवको मागमा पनि सहमति जनाए। ‘महिला नै मन्त्री हुनुपर्ने मञ्जुजीको माग स्वभाविक छ। मन्त्री पार्टीको सिफारिबाट नियुक्त गर्नु बाध्यता छ। यो गठबन्धन सरकार हो। भोलिका दिनमा महिला मन्त्रालयमा महिला मन्त्री नै हुनेछ। भोलि अवश्य आउँछ,’ उनले भने, ‘वीरेन्द्र सिंहजी संयोगले महिला पर्नुभएन तर उहाँ युवा हुनुहुन्छ। उहाँको काममा कुनै कमी छैन।’

उनले ५० प्रतिशत आरक्षण सुनिश्चित गर्ने मधेस प्रदेश पहिलो प्रदेश भएको दाबी गरे। ‘प्रहरी र निजामति कर्मचारीमा हामीले महिला ५० प्रतिशत सुनिश्चित गरेका छौं। दुबै ऐनमा उल्लेख छ,’ उनले भने।

मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐन आइसकेको उल्लेख गर्दै भने, ‘म पदमा रहे पनि नरहे पनि १५ वर्षपछि जुनसुकै प्रहरी कार्यालय जानुस् हाम्रै मधेसका भाइ बहिनी हुनेछन्। यो मेरो परिकल्पना हो।’

महोत्सव आयोजक महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयका विभागीय मन्त्री वीरेन्द्र प्रसाद सिंहले प्रदेशको आजको आवश्यकता ‘अग्रजको अनुभव, युवाको उर्जा’को आवश्यकता भएको बताए। ‘मधेस प्रदेशलाई विकसित र समुन्नत बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘अनुभव साटासाट गरेर प्रदेशको उत्थानका लागि के कस्ता कार्यक्रम गर्नुपर्छ भन्ने सुझाव लिन्छौं।’

मन्त्री सिंहले विदेशलाई समृद्ध गर्न सक्ने युवालाई मधेसको समृद्धिमा परिचालन गर्नुपर्ने बताए। परिचालन नगर्दा सबै प्रदेशमा मधेस पछाडि परेको उनको भनाइ थियो। ‘कुनै पनि प्रदेशले नगरेका महोत्सव सुरूवात गरेको छ,’ उनले भने ।
मन्त्री सिंहले युवाहरूलाई स्वस्थ राख्ने नीति लिएको जानकारी गराए। ‘हरेक जिल्लाको सदरमुकाममा एक सार्वजनिक जिम सेन्टर स्थापना गर्दैछौं। बजेट व्यवस्थापन भइसकेको छ। अर्को वर्ष थप्दै जान्छौं,’ उनले भने।

वृद्धाश्रममा बस्नेलाई गाँस बास कपास, भौतिक संरचना पुनर्निर्माणको काम थालिसकेको उनको भनाइ छ। ‘पाँच सय महिलालाई तालिम दिने र तालिम प्राप्त गर्नेलाई उद्योग गर्न मेसिन दिने गरेका छौं,’ उनले भने, ‘आउँदो बजेटमा २ हजार महिलालाई तालिम दिने लक्ष्य राखेका छौं।’

छात्राहरूलाई निशुल्क स्यानेटरी प्याड वितरण गरिरहेको जानकारी दिँदै मन्त्री सिंहले आगामी वर्ष दुई हजार छात्रालाई डिफेन्स तालिम दिइने बताए। ‘कभर्ड हल मर्मत र व्यवस्थित सञ्चालन गर्ने कार्यक्रममा राखेका छौं। कम्तिमा दुई सय युवालाई रोजगारी दिने लक्ष्य छ,’ उनले भने।

मन्त्री सिंहले खेलकुद परिषद र युवा परिषद विधेयक तयार रहेको र साउनबाट सुरू हुने सदन अधिवेशनमा लगेर पास गरिने बताए। ‘आउँदो वर्ष सञ्चालन हुनेगरी बजेट राखेका छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?