एशिया कप छनोट : नेपालले ओमानलाई दियो २ सय २२ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट खेलमा नेपालले ओमनसामु २ सय २२ रनको चुनौती प्रस्तुत गरेको छ । 

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २१ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि सागर पुनले अर्धशतकिय पारी खेलेका थिए । उनले सर्वाधिक ८३ रनको योगदान दिएका थिए । लामो समय पश्चात राष्ट्रिय टिममा कमब्याक गरेका उनले ८४ बलमा ६ छक्का र २ चौका प्रहार गरेका थिए । 

त्यस्तै, ओपनर ब्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन जोड्दै पभेलियनमा फर्किए । उनलाई ओमनका जतिन्दर सिंहले क्याच आउट गरे ।   अर्को ओपनर ब्याट्सम्यान सुवास खकुरेल सुरज कुमारले रन आउट गरे । उनले मात्र ४ रन जोडेका थिए ।

यता, कप्तान पारस खड्काले खासै उल्लेख्य प्रर्दशन भने गर्न सकेन् । उनी ८ रन जोड्दै पभेलियनमा फर्किए । उनी ‘एलबिडब्लु’मा आउट भए । पाँचौ नम्बरमा मैदान प्रवेश गरेका दिपेश सिंह ऐरीले ९ रन मात्र बनाए ।

उनलाई नश्रिम खुशीले क्याच आउट गरे ।  आरिफ शेख ३६ रन बनाउँदै बाहिरिए । शेखलाई जेशन माक्सोदले क्याच आउट गरे ।  सागर र आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए । 

दुबैले पाँचौ विकेटका लागि ९२ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए ।  त्यस्तै, रोहित कुमार पौडेल शून्य रनमा आउट भए भने सोमपाल कामीले ५ रन जोड्न सफल भए । 

अहिले विजयी लक्ष्य लिएर ओमनले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म ओमनले १७ ओभरमा १ विकेट गुमाउँदै ६१ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले ओमनको पहिलो विकेट लिएका छन्।

एशिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?