बैंकले शेयर कारोबार गर्न नयाँ कम्पनी खोल्नुपर्ने

काठमाडाैं : मर्चेन्ट बैंकमार्फत शेयर दलालको काम गरिरहेका बैंकहरूले अब छुट्टै सहायक कम्पनी खोल्नुपर्ने भएको छ । 

बिक्री प्रबन्धक एवं प्रत्याभूतिकर्ताको काम गर्ने मर्चेन्ट बैंकबाटै धितोपत्र दलालीको काम हुँदै अाएकोमा अब बैंकहरूले ब्रोकरको काम गर्न चाहेमा छुट्टै नयाँ कम्पनी खोल्नुपर्ने भएको हो । 

हालको कानूनी प्रावधानअनुसार पनि मर्चेन्ट बैंकले शेयर दलालको काम गर्न पाउँदैनन् । तर, बैंकहरूले यसैमार्फत शेयर दलालीको काम समेत गरिरहेका छन् । 

अहिले नेपालमा २८ वटा बाणिज्य बैंक छन् । यीमध्ये १३ वटा बैंकहरूले सहायक कम्पनीमार्फत मर्चेन्ट बैंकिङ र शेयर दलालीको काम गरिरहेका छन् । तर, कुनै बैंकहले अहिलेसम्म शेयर दलालको काम गर्नका लागि अनुमति नलिएको नियामक नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । 

अब केन्द्रीय बैंकले बाणिज्य बैंकहरूलार्इ सहायक कम्पनी खोल्न अनुमति दिनेछ । त्यसपछि शेयर दलालसम्बन्धी काम गर्ने अनुमति लिन बैंकहरू पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा जानुपर्नेछ । 

बैंकलार्इ शेयर दलालीको काम दिनका लागि बोर्डले मापदण्ड तयार गर्ने र राष्ट्र बैंकले प्रावधान बनाउने भएको छ। मापदण्ड पुरा गरेका बैंकलार्इ बोर्डले नै धितोपत्र दलालीको काम गर्ने अधिकार प्रदान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?