हामीले बिर्सेको त्यो असार १५ !

लोकपथ
234
Shares

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो रोपेर मुरी फलाउने समय’ ।

राष्ट्रिय धान दिवस भनेर त सरकारले १८ वर्ष पहिले घोषणा मात्र गरेको हो । यसको अस्तित्व त नेपालमा सयौं वर्ष पहिलेदेखि नै रहँदै आएको छ ।

नेपाली भेगमा वर्षाको सुरुवात भएसँगै गुजुमुज्ज ती धनाका हरिया ब्याडहरुले स्वतन्त्रता पाउने समय हो यो असार महिना । यो धान रोपाईँ मात्र हैन हाम्रो संस्कृति र सभ्यताको अभिन्न अंग पनि हो ।

सामान्यतया जेठ महिनाको अन्तीम सातादेखि नेपालमा मनसुनमा सुरू हुने र असारको मध्यसम्म पूर्णरुपमा मनसुन सक्रिय हुने हुँदा धान रोप्नका लागि सबैभन्दा उपयुक्त समय यसैलाई मानीन्छ । देशको ६० प्रतिशत खेतीयोग्य जमीन आकाशे पानीको भरमा रहेकाले पनि कृषकको लागि असार १५ को निक्कै ठूलो महत्व रहेको छ ।

भित्तामा टाँगीएको क्यालेण्डरमा रहेको अंक मात्र होइन असार १५ । यो त बोराको चामललाई कुकरमा सिट्ठि लगाएर आफ्ना सन्ततिलाई चामल पसलमा पाइन्छ भनेर शिक्षादिने कृषि प्रधान देशका हामी नागरिकलाई झकझकाउने दिन पनि हो ।

असार १५ लाई नजिकबाट कसैले नियाल्नु भएको छ भने तपाईंलाई पक्कै थाहा होला, ‘मान्छेकाे लासलाई एकछिन घुमले छोपेर भएपनि असारे भेल छोप्ने समय’ हो यो ।

करीब ६ हजार बर्षअघि एशियाको हिन्दकुश हिमालयको फेदमा सुरु भएको धानको खेती । नेपालकै गहिरो स्थान झापाको केचनादेखि २ हजार ७८० मीटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिन्छ ।

नेपाल कृषि अनुसन्धान परिषद्को तथ्यांक अनुसार नेपालमा करिब २ हजार जातका धान पाइन्छ र जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ ।

असार १५ मा हिलो छ्यापा–छ्याप गरेर रमाइलो गर्दै धान रोपेर खाजाको रुपमा दहि चिउरा खाएर असार १५ मनाइने हाम्रो परम्परा रहेको छ । दहि चिउरालाई सजिलो खाजाको रुपमा लिइने भएकाले धान रोपाइँको यो चटारोमा दहि चिउरा खाइने प्रचलन रहेको मानिन्छ ।हिलो

खेत, बाउसे, असारे गीत, सामाजिक एकताको प्रतिक पर्म, गरागरामा मुठा पारेर फिँजाइएका ती धानका ब्याड । हाम्रा ती संस्कृती र अन्न प्रतिको हाम्रो सम्मान आजभोली ओझेलमा छ । आज हाम्रा ती संस्कृतीले निरन्तरता पाएका छैनन् । र त, सामाजिक संजालमा न ती बाउसेका पसिना देख्न पाइन्छ, न असारे गीत सुन्न नै पाइन्छ ।

खेतका गरामाा युवायुवती लडिबुडि गरेका ती तस्बिरहरुले गर्दा आज सामाजिक संजाल लजाएको छ । धान दिवसको नाममा फैलीएको विकृतीले हाम्रा ती पुराना शैली र यसको महत्वलाई खोजी रहेको छ ।

सम्बन्धित भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?