हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुला

लोकपथ
65
Shares

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि बुधबारबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएकोले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा १९ असारमा हुनेछ भने ढिलोमा २९ असारमा हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?