ओलीको खोक्रो बोली भित्रको अधिनायकवादी रसायन

काठमाडौ :  हालै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चिनजान भएका ठूला भनिएका सञ्चार माध्यमका सम्पादकहरूलाई बालुवाटारमा बोलाएर भलाकुसारी गरेको विषय सञ्चार माध्यममा सार्वजनिक भएको चर्चा चिया पसलमा चर्चित हुन थालेको छ ।

ललितपुरको च्यासल पुग्न कृष्णमन्दिर निरको म मरुँ गल्लीबाट पनि सकिन्छ । अरू बाटाहरू पनि छन् । च्यासल गन्तव्य हो । बटा त अनेक हुने नै भए ।

त्यसैले बहुदलबादीहरूले बहुलवाद भनेको हुनुपर्छ जस्तो लाग्छ । एक नव सिकारूले म मरूँ गल्ली भित्रको एक पसलमा अनुभव सुनाउँदै थिए।

त्यो सिकारूको कुरा सुन्ने केही कुइरेलाई कुनै बास्ता थिएन् । तर बिहान बिहान यस्ता चिया गफमा रमाउने स्थानी बूढाहरूले चाख दिएर सुनिरहेका थिए ।

उनले भने “ओलीले सम्पादकहरू अगाडि बोलेको बोली खोक्रो ।”
एमाले माओवादी प्रभावित क्षेत्रको रूपमा त्यसलाई लिने गरिन्छ । उनीहरूको समर्थकले प्रति प्रश्न ग-यो “ कसरी भन्छौं ?”
नव सिकारूले पाटन क्याम्पस पढेको धाक लगाउँदै भने  “ क्रियटिभ थिंकिंगमा यस्तै भनेको रहेछ ।

अनुच्छेदका अनुच्छेद पढियो तर भन्न खोजेको विषय केहो केही नबुझ्नु भनेकोलाई ‘इम्पटि ल्यांगवेज’ भनिदो रहेछ ।

एक सम्पादकले ओलीको बोलीको बेलिविस्तार लगाएका रहेछन् पढेपछि त्यस्तै लाग्यो । र पो भनेको त ओलीको बोली खोक्रो बोली हो ।”

नेताहरू जरूरी छैन पार्टीको नेता होस । जुनसुकै क्षेत्रको नेताहरूको कुरो सुन्नुस र खुट्टयाउनुस भन्न धेरै भन्छन् तर के भन्न खोजेको हो त्यसको छुउ पुच्छर सम्बन्ध फेला पार्न गाह्रो हुन्छ ।

ओलीले सपथ खाएयता भएका घटनाक्रमका बारेमा मिडियामा भएका सार्वजनिक भएका आलोचनात्मक टिप्पणीबारे चिन्ता व्यक्त गर्न ती सम्पादकहरूलाई बोलाएको रहेको जस्तो देखिन्छ ।

ओलीले प्रधानमन्त्रीको रूपमा यो पटक आफ्नो सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ हुन् ।

यो भनेको ‘च्यासल’ हो ।पुग्ने बाटा धेरै हुन्छन् । पुग्नलाई एमाले धेरै भएकाहरूको नजिकबाट जान सकिन्छ । कांग्रेस धेरै भएकाहरूको नजिकबाट जान सकिन्छ ।

अलि अलि सबै भएकाहरूको बीचबाट जान सकिन्छ । तर पुग्ने त च्यासल नै हो नि?

चोर विद्या बाहेक अलि कम मात्रै राजनीति हुन्छ नत्र सबै भन्दा शीर्षस्थानमा राजनीति नै हुन्छ । प्रदेश नम्बर २ तिर ‘रजनीति से चोर विद्या भारी ’ भनिन्छ । त्यसैले भनिएको हो ।

अन्यथा राजनीतिको शानै बेग्लै । मान बेग्लै हो ।

प्रधानमन्त्रीले सम्पादकहरूसँगको भलाकुसारीमा आफू चोर र साधुलाई पहिचान गर्न सिपालु भएको बताए ।

अत्तर लगाएकालाई पहिचान गरिहाल्छु नी भनिरहँदा उनले डा. गोविन्द केसीलाई बिर्से ।

डा. केसीले कुरो नमाने म अनसन बस्छु भन्दा उनलाई चिनेन् । जब देशभर ठूलो हंगामा भयो अनि बल्ल ओलीको चेत खुल्यो ।

आफ्ना परिचर र गुप्तचरलाई परिचालन मात्र गरेन् सेना पुलिसबाट लाठी चार्ज पनि गराए । अनि संवाद गरेर सम्झौता गरे ।

यहाँ सवाल उठछ ओलीसँग विषय र प्रसंगलाई सुँघेर बुझ्ने क्षमता भएको भए डा. केसीले अनसन बस्नु पर्ने थिएन् । सपथ खाएको भोलि पल्टै विधेयक पारित गराइ दिन्थे ।

तर उनले कुरो चार्न सकेनन् । राजनीति गरे ओली । समयको बर्बादी । आखिर डा. केसीको कुरो समृद्ध नेपाल सुखी नेपालीका लागि न थियो ।

ओलीलाई दुई तिहाईको समर्थन छ । तर प्रतिपक्ष कांग्रेस छ । कांग्रेसको सहयोग लिएर दुई तिहाईको समर्थन सलल बग्दैन् ।

कांग्रेसले राजनीतिक हलो अड्काउँछ त्यो बुझेको विषय हो । मिडियाले देखेको कुरो बोल्छ त्यो जानेको विषय हो । अनि काम गरेपनि नगरे पनि कोही न कोही बोल्छ । बहुदलवादीको बहुलवाद हो ।

प्रधानमन्त्री ओली यी सबैका जानकार हुन् । कांग्रेससँग एजेन्डा नै छन् । ओली जानकार हुन् । त कांग्रेससँग बाँकी नै के छ ? ओली आफै विज्ञ हुन् ।

यस्तोमा आफूले चिनेजानेका ठूला मिडिया भनिएका सञ्चार माध्यमका सम्पादकलाई बोलाएर चिन्ता व्यक्त गर्नुको कारण देश गम्भीर संकटमा फसेको भन्नु मात्रै हो त ?

ती सम्पादकहरूबाट  पनि ओलीले के गर्न भने त्यो सार्वजनिक गरिएको पाइएको छैन् । भनेको भएपनि भन्ने कुरो भएन् । आखिर देशका प्रधानमन्त्री हुन् । लोकतन्त्रका हिमायती प्रधानमन्त्री ।

उनले सरकारलाई बचाउ गरि लेख्नु होला भनेर भनेको भन्दा देशकै बेइज्जत हुने होला भनेर नभनेको हुन सक्छ ।

नभनेर पनि भन्न खोजेको आशय त त्यही होला जस्तो अर्थ चिया पसलका जनतालाई लागि रहेको छ ।

यस्तोमा ओलीको बोली खोक्रो पुष्टि भइरहेको छ । लोकतान्त्रिक गणतान्त्रिक आवरणमा कुनै किसिमको अधिनायवाद जन्माउने रसायनको निर्माण बाहेक के नै हुन सक्छ ?

लोकतान्त्रिक नेतृको छवि निर्माण गरेकी म्यानमारको लोकतान्त्रिक पार्टीको अगुवाई गर्ने नोबेल शान्ति पुरस्कारबाट सम्मानित आङ साङ सुकीको मानवतावादी विरोधी अनुहार सार्वजनिक होला भनेर कसैले चिताएको थियो र ?

यो त राजनीतिको समीकरणले निर्माण गर्ने परिस्थितिको उपज हुन्छ । जसले परिस्थितिलाई जित्यो त्यो ऐतिहासिक व्यक्तित्व निर्माण गर्छ ।

होइन भने  ओलीले प्राप्त गरेको दुई तिहाईको बहुमतले निर्माण गरेको रसायनले अधिनायकवाद ल्याउने कांग्रेसी नेताहरूको आंशका सत्य साबित न होला भन्न सकिन्न ।

त्यसपनि अधिनायकवाद चिन्ने गुण विशेष कांग्रेसकै थैलीमा छ नि । किन्न भने महेन्द्ररूपी अधिनायकवाद होस वा ज्ञानेन्द्ररूपी अधिनायकवाद होस दुबैको भोक्ता कांग्रेस नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?