समिति सभापतिको टुङ्गो लाग्यो

काठमाडौंँ-राष्ट्रिय सभाका विषयगत चार समितिमध्ये तीनवटा समतिमा सभापतिको टुङ्गो लागेको छ । मङ्गलवार सभापतिका लागि तीन समितिमा एकल मनोनयन दर्ता भएसँगै यसको टुङ्गो लागेको हो ।
विधायन व्यवस्थापन समितिमा सांसद् परशुराम मेघी गुरुङ, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद् रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद् दिलकुमारी रावल थापा (पार्वती) को उम्मेदवारी परेको छ ।

समितिका सभापतिको मनोनयन दर्ता गर्नका लागि मङ्गलवार ४ बजेसम्मको समय निर्धारण गरिएको भए पनि दिगो विकास तथा सुशासन समितिमा भने उम्मेदवारी दर्ता हुन सकेन । सभापतिका लागि सांसद्ले एक जना प्रस्तावक र एक जना समर्थकसहित मङ्गलवार संसद् सचिवालयमा मनोनयन दर्ता गरेका हुन् । समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बुधवार बैठक बसेर सभापतिको घोषणा गरिनेछ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले उम्मेदवारी परेका समितिका सभापतिको घोषणा भएपछि बाँकी रहेको समितिको सभापतिका लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए । राष्ट्रिय सभामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(ने क पा)का मुख्य सचेतक खिमलाल भट्टराईले सभापतिको उम्मेदवारी दर्ता हुन नसकेको दिगो विकास तथा सुशासन समितिमा नेपाली कांग्रेसका सांसदलाई राजनीतिक सहमतिका आधारमा सभापति दिन लागेको जानकारी दिए ।

उहाँले सबै समितिमा सम्बन्धित समितिका सदस्यमध्येबाट मात्र सभापति हुन पाउने व्यवस्था भएको उल्लेख गर्दै कांग्रेसका तर्फबाट समितिको सभापतिका सम्भावित उम्मेदवार अन्य समितिमा भएकोले केही दिनपछि थप प्रक्रिया अगाडि बढ्ने बताए।

राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक सरिता प्रसाईले दिगो विकास तथा सुशासन समितिका लागि तारादेवी भट्टलाई सभापति बनाउने तयारी भइरहेको जानकारी दिए । भट्ट राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएका कारण मंगलवार मनोनयन हुन नसकेको हो । गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?