‘एशियाड’: प्याराग्लाडिङले जगायो पदकको आशा

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत प्याराग्लाडिङले पदक ल्याउने सम्भावनालाई जिवितै राखेको छ । 

११ औँ दिनको खेलको समाप्तीसम्म पदक विहिन बनेको नेपाललाई प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री विधाले पदक भित्राउन सक्ने सम्भावनालाई बलियो बनाएको हो । 

मंगलवार सम्पन्न चौंथो चरणको समाप्तीसम्म आइपुग्दा नेपाली पुरुष टोली दोस्रो स्थानमा छ । कुल नेपालले २७ सय ९८ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो ।  पहिलो स्थानमा रहेको जापानको ३२ सय ९८ अंक बनाएको छ । 

यस विधामा नेपाली टोली पहिलो र दोस्रो चरणको खेलमा भने तेस्रो स्थानमा थियो । तर, सोमबार भएको तेस्रो चरणको खेलमा भने नेपाल चौँथो स्थानमा झरेको थियो । 

पदकको आशा गरिएको मार्सल आर्टको तेक्वान्दो, कराते र बक्सिङ पदक विहिन बन्दा प्याराग्लाइडिङले नेपाली खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ । 

भोली ‘बुधवार’ हुने पाँचौ तथा अन्तिम चरणको खेलले नेपालले स्वर्ण, रजत वा कास्य पदक जित्ने टुङगो लाग्नेछ । 

नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले नेपालले स्वर्ण पदक जित्न सक्ने सम्भावना रहेको बताएका छन् । 

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी सहभागी छन् । 

टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन्  । त्यस्तै, अन्य चार खेलाडीमा  युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?