प्रतिनिधिसभामा छ विधेयक पेश

काठमाडों । प्रतिनिधिसभाको मंगलवारको बैंठकमा मौलिक हक कार्यान्वयन गर्ने लगायतका विभिन्न छ वटा विधेयक पेश गरिएको छ । 

बैंठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, २०७५’, र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ‘रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ पेश गरेका थिए । 

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत ‘कसूर र सजाय’ ‘पहिलो संशोधन’ विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ पेश गरेका थिए । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमिसम्बन्धी ‘सातौँ संशोधन’ विधेयक, २०७५ र गृहमन्त्री रामबहादुर थापाले वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ विधेयक पेश गरे । 

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक र रोजगारीको हकसम्बन्धी विधेयकमा सांसद प्रेम सुवालले राखेको विरोधको सूचना बहुमतले अस्वीकृत गरेको थियो । 

बैंठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको ‘जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतहरुमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्बन्धी नागोया अभिसन्धिको सम्मिलन गर्नेसम्बन्धी प्रस्तावको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । 

प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १८ गते बिहान ११ बजे बस्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?