विमानस्थल लक्षित गर्दै हवाई आक्रमण

यमन । विद्रोहीको बलियो प्रभाव रहेको यमनको राजधानी सानाको विमानस्थलमा स्थानीय समयानुसार सोमबार मध्यराति साउदी गठबन्धनले एक दर्जन बढी हवाई हमला गरेको छ । 

यमनका हुथी विद्रोही समूहले हवाई हमला मध्यराति शुरु भएको र करिब आधा घण्टासम्म जारी रहेको जनाएको छ । यद्यपि प्रायः यो विमानस्थल प्रयोगमा आउने गरेको छैन । उक्त विमानस्थल नजिकै अल दैलामी हवाई शिविर पनि रहेको छ । 

अहिलेसम्म यस कारबाहीबाट मानवीय क्षतिको कुनै सामाचार आएको छैन । 

हुथी विद्रोहीले दुबई विमानस्थलमा मानवरहित ड्रोन आक्रमण गरेको दाबी गरेलगत्तै केही घण्टापछि सोमबार रातिको आक्रमण भएको बताइन्छ । तर संयुक्त अरब इमिरेट्सले हुथी विद्रोहीको दाबीलाई अस्वीकार गरेको छ । 

साउदी अरेबियाआवद्ध संयुक्त सेनाले सन् २०१५ बाट नै इरानको समर्थन रहेको हुथी बिद्रोही विरुद्ध कारबाही गर्दै आएको छ । 

अन्तर्राष्ट्रिय समर्थन रहेको यमन सरकारलाई पुनः स्थापनालगायत शक्तिमा ल्याउन र हुथी विद्रोहीलाई पछाडि पार्न साउदी अरेबियाले सन् २०१५ बाट यमन सरकारलाई सहयोग गर्दै आएको छ । तर साउदी अरेबियाआवद्ध संयुक्त सेनामाथि हुथी विद्रोहीविरुद्धको कारबाहीको क्रममा निर्दोष सर्वसाधारणको हत्या भएको आरोप लाग्दै आएको छ । 

सन् २०१५ बाट सुरु भएको यस द्वन्द्वमा परी १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । साथै संयुक्त राष्ट्रसंघले यमनमा विश्वमै अत्यन्त खराब मानवीय द्वन्द्व जारी रहेको बताएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?