१८ औँ ‘एशियाड’: आशा गरिएको खेल पनि पदक विहीन

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपाल अहिलेसम्म पदक विहीन छ ।

पदकको आशा गरिएको मार्सल आर्ट भित्रको तेक्वान्दो, कराँते र बक्सिङ खेलले जारी ‘एशियाड’मा कुनै जादु देखाउन सकेनन् । यी तीनै खेलका सहभागी सबै खेलाडी पहिलो र दोस्रो चरणबाटै बाहिरिएपछि नेपालको आर्सल आर्ट भित्रको तीन खेलमा पदकको खडेरी लागेको  हो । एशियाली खेलकुदको इतिहासमा यी तीन खेलले नै नेपाललाई २३ पदक दिलाएको थियो । 

तेक्वान्दोको चुनौती भदौं ७ गते सकिएको थियो भने कराँते र बक्सिङको चुनौती सोमवारबाट समाप्त भएको हो । 

विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कास्य, बक्सिङले ६ कास्य र कराँतेले ३ कास्य पदक जितेको थियो ।  सोमबार करातेमा दुई  र बक्सिङका एक खेलाडी ‘एशियाड’बाट बाहिरिएपछि नेपालले यस संस्करणमा कुनै पदक भित्राउन नसकेका हुन् । सोमबार करातेमा पुरुष ८४ केजीमुनि नेपालका दिवस श्रेष्ठ र महिलाको ५० केजीमुनि नेपालकी अनु अधिकारीले खासै राम्रो प्रर्दशन गर्न सकेनन् । 

यता, बक्सिङको पुरुष ७५ केजीमा दीपक श्रेष्ठ पनि पहिलो चरणबाटै बाहिरिए । 

यसअघि सन् २०१० मा सम्पन्न ग्वान्जाउ ‘एशियाड’मा बक्सिङतर्फ दिपक महर्जनले र २०१४ को इन्जोन ‘एशियाड’मा कराँतेकी बिमला तामाङले कास्य पदक जितेकी थिइन् । 

जारी ‘एशियाड’मा नेपालका लागि पुरुषतर्फ १ सय २९ र महिलातर्फ ८५ खेलाडीले सहभागिता जनाएका छन् । ‘एशियाड’मा सहभागी हुन नेपालका कुनै पनि खेलाडीले छनोट खेल्न नपर्ने भएकाले जारी प्रतियोगितामा नेपालले ४० खेलमध्ये २९ वटा खेलमा सहभागिता जनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?