सात महिनाको एक बच्चाको सकुशल उद्धार

 जनकपुरधाम, २९ असोज – अपहृत सात महिनाको एक बच्चालाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ ।धनुषा जिल्लाको कमला नगरपालिका–३ पर्साका सुनितादेवी यादवको सात महिनाका छोरा शुभम् यादवलाई प्रहरीले सकुशल उद्धार गरेको हो ।जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले अपहरण भएको १७ दिनपछि बच्चालाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।यही असोज १२ गते राति आमासँगै सुतिरहेको सो बच्चालाई अपहरण गरी सिरहा जिल्ला लक्ष्मीपुर पतार गाउँपालिका–४ का लीलादेवी साह कलवारको घरमा शरीर बन्धक राखेको अवस्थाबाट उद्धार गरिएको छ ।लीलादेवीको चारवटा छोरी भएको र छोराका लागि भारतको दिल्ली अनाथालयमा प्रयास गरे पनि कानुनी व्यवधानले बच्चा प्राप्त गर्न नसकेपछि सिरहा नगरपालिका–१० नरहरियाका दिलीप मण्डलको सहयोगमा दुई लाख ५० हजारमा अपहरणकारीबाट बच्चा लिएको बताइएको छ ।अपहरणमा संलग्न कमला नगरपालिका–२ का राधाकृष्ण मण्डल, दिलीप मण्डल र लीलादेवीलाई पक्राउ गरिएको छ भने वीरेन्द्र यादव र बाला पासवान फरार रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?