लगानीकर्ताको उत्साह एक दिन पनि टिकेन, सेयर बजारमा दोहोरो अंकको गिरावट

लोकपथ
312
Shares

काठमाडौं । आइतबार उछाल आएको सेयर बजारमा सोमबार फेरि गिरावट आएको छ । आज सेयर बजार १.२२ प्रतिशतले घटेको छ । शुक्रबार आन्दोलनरत लगानीकर्ता र नेपाल धितोपत्र बोर्डबीच सहमति भएसँगै शुक्रबार र आइतबार सेयर बजारमा हरियाली छाएको थियो ।

यसले बजार लयमा फर्कने कतिपय लगानीकर्ताले अनुमान गरेका थिए । निरन्तर घटिरहेको बजार बढ्दा लगानीकर्ता उत्साहित भएका थिए । तर लगानीकर्ताको उत्साह एक दिन पनि टिक्न सकेन ।

आज नेप्से परिसूचक २३.८५ अंकले घटेर १९९३.१३ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ७.०२ अंकले घटेर ३७५.८२ बिन्दुमा झरेको छ । आइतबार सेयर बजारमा ९५ अंकको उछाल आएको थियो । उक्त बढोत्तरीलाई कतिपयले नाटकीय भनेर टिप्पणी समेत गरेका थिए ।

यसदिन कारोबार अवधिभर २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४८ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा आएका १३ उपसमूहमा २ वटा उपसमूह मात्र सकारात्मक बनेको छ बाँकी ११ वटा उपसमूहको सेयर मूल्य घटेको छ ।

यस दिन जीवन बीमा र लगानी समूहको मात्र सेयर मूल्य बढेको छ । यस दिन विकास बैंक समूहको सेयर मूल्य = सर्वाधिक घटेको छ ।

सोमबार सिवाईसि लघुवित्त, न्यादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

त्यसैगरी, उन्नति सहकार्य लघुवित्तको सेयरमुल्यमा नेगेटिभ सर्किट लागेको छ । तेह्रथुम पावर कम्पनी, प्रुड़ेन्सियल इन्स्योरेन्स, शिव श्री हाइड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।

आज सिटिजन्स इन्भेस्टमेन्ट ट्रष्टले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले १५ करोड ६५ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?