४ महिनामा ६४ किलो सुन बरामद

सिलिगुडी – चीन हुँदै सिक्किमको नाथुला मार्गबाट जेठ १८ मा भित्रिएको ३२ किलो सुन केन्द्रीय राजस्व विभागको टोलीले सिलिगुडीबाट समातेको थियो । असार १३ गते थप २ किलो सुन सिलिगुडीबाटै राजस्व विभागले बरामद गरेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

असार २३ मा १० किलो सुनसहित २ जनालाई सिलिगुडीकै सेवोक रोडबाट फेला पारियो । भदौ ९ गते विभागले बरामद सुनको सूचीमा फेरि २० किलो थप्यो । सुनसहित सिलिगुडी भानु नगरका दाजु–भाइ नीरज र रोहित अग्रवाल पक्राउ परे ।

उनीहरूलाई सिलिगुडी अदालतले दुई साता प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । विभागले असारयता सिलिगुडी क्षेत्रबाट मात्रै ६४ किलो सुन बरामद गरिसकेको छ । यसको बजार मूल्य करिब २० करोड भारतीय रुपैयाँ हुन्छ ।

सबै सुन सिलिगुडीको सेवोक रोड क्षेत्रबाट बरामद गरिएको देखिन्छ । सुन तस्करीको ‘अखडा’ का रूपमा यो क्षेत्रलाई भारतीय गुप्तचर र राजस्व विभागले लामो समयदेखि निगरानी गर्दै आएको थियो । तस्करी भएर आएको सुन सिलिगुडीबाट भारतका अन्य सहरहरूमा बिक्री हुने गरेको छ । खासगरी दक्षिण भारतीय सहरको माग सिलिगुडीले पूर्ति गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?