मन्त्रीबाट बिदा हुँदै कृष्णकुमार श्रेष्ठले भने- ‘पदमा टाँसिरहने र पैसा कमाउने लोभ छैन’

लोकपथ
104
Shares

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच आफूमा नभएको बताएका छन् ।

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले मन्त्री पदका लागि बालुवाटार र खुमलटार धाएको आक्षेप लाग्ने गरेको भएपनि त्यो सत्य नभएको जिकिर गरे । मन्त्री श्रेष्ठले पार्टी छोड्ने भन्ने कुरामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । उनले आफू अहिलेपनि मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर आएको भन्दै मन्त्रीमा टाँसिन र मन्त्री बनेर पैसा कमाउने लोभ नरहेको बताए । मन्त्री श्रेष्ठले ८ महिना २१ दिन मन्त्री भएर आफूले गरेका कामहरु सगौरव प्रस्तुत गर्न पाउनु नै आफ्नो लागि ठूलो कुरा भएको बताए ।

उनले भने, ‘नचाहिने हल्लाहरु फिँजाइएका छन् । कुर्सीमा टाँसिरहनका लागि कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे मन्त्रीहरु भनेर पनि आक्षेप आएको छ । हामी मन्त्रीहरुको भनाइ के हो भन्दा लोकतान्त्रिक पद्धतिमा हामीले बजेट पेस गसिकेपछि बजेटको माननीयहरुले सोध्ने प्रश्नको उत्तर पनि दिन पाउँ भन्नेमात्रै हाम्रो कुरा हो । यहाँ त लौ टाँसिनलाई पार्टी छोड्छ रे, मन्त्री छोड्नै लागेको छैन रे, प्रधानमन्त्रीलाई प्रेसर रे, यो केही होइन । मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु । मन्त्रीपदमा टाँसिरहनु, मन्त्री भएर पैसा कमाउनु, त्यस्तो मेरो लोभ लालच छैन । ८ महिना २१ दिन बसेर आफूले गरेका कामहरु सगौरव भन्न पाइयो यही ठूलो कुरा हो ।’

निवर्तमान श्रममन्त्री श्रेष्ठले प्रतिनिधि सभा र राष्ट्रिय सभामा मन्त्रीले बोलिसकेपछि क्रस क्वेशन गर्ने र असन्तुष्टि जाहेर गर्ने कुरा आफूमा लागू नभएकोले पनि सबै काम राम्रो गरेको प्रमाणित भएको दाबी गरे । उनले पार्टीकै अर्का मन्त्री प्रेमबहादुर आलेले आफ्नो कार्यकालमा आफूलाई नै नम्बर दिएकोप्रति लक्षित गर्दै आफूले गरेको कामको नम्बर जनताले दिने बताए । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले आइतबार पत्रकार सम्मेलन गर्दै आफूले गरेका काममा ९० अंक दिएका थिए ।

एकीकृत समाजवादीले आगामी मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय गरेसँगै असन्तुष्ट भएका मन्त्रीहरुले राजीनामा दिएका हुन् । एकीकृत समाजवादीको सचिवालय बैठकले मन्त्रीहरुलाई हटाइ अन्यलाई सरकारमा पठाउने निर्णय गरे पनि श्रेष्ठ लगायत अन्य मन्त्रीहरुले नमानेपछि मन्त्रिमण्डलमा नयाँ मन्त्रीहरु गएका थिएनन् । तर पार्टीको दबाबपछि श्रेष्ठसहित पर्यटजमन्त्रीबाट प्रेम आले, शहरी विकासबाट रामकुमारी झाँक्री र स्वास्थ्यमन्त्रीबाट विरोध खतिवडाले राजीनामा दिएर बाटो खोलिदिएका थिए । त्यससँगै आइतबार नै यसअघि प्रस्ताव भएका मन्त्रीहरु सरकारमा सामेल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?