प्रधानमन्त्रीलाई ज्ञापन–पत्र : घरमा चुलो बाल्न धौ-धौ परिरहेको बेला सरकार किन मूकदर्शक ?

लोकपथ
26
Shares

खोटाङ । एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघ खोटाङले महँगी नियन्त्रण गरेर जनजीविकालाई सहज बनाउन सरकार समक्ष माग गरेको छ । दिनानुदिन महँगी बढाएर जनताको ढाड सेक्ने काम भइरहेको भन्दै तीन संगठनले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै महँगी नियन्त्रण गर्न र जनजीवनलाई सहज बनाउन माग गरेको हो ।

आम सर्वसाधारणको घरमा चुलो बाल्न धौ-धौ परिरहेको बेला सरकार मूकदर्शक बनेर बसेको ज्ञापन–पत्रमा उल्लेख छ । सरकार जनताको संरक्षक नभै पुँजीपतिको कठपुतली बनिरहेको आरोप लगाइएको छ । ‘मुलुकको अर्थतन्त्र इतिहासकै सबैभन्दा संकटग्रस्त अवस्थामा पुगेको छ । जनताले दैनिक उपभोग्यवस्तु किन्न सक्ने अवस्था छैन भने सरकार दिनदिनै महँगी बढाएर जनताको ढाड सेक्न व्यस्त छ,’ ज्ञापन–पत्रमा भनिएको छ, ‘आम सर्वसाधारणको घरमा चुलो बाल्न धौ-धौ परेको बेला सरकार यसको मजा लिएर बसेको छ । जनताको दुःखप्रति यति उदासीन र गैरजिम्मेवार बनेको सरकार वास्तवमा कसको सरकार हो ? भन्ने प्रश्न गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।’

राष्ट्रिय युवा संघका अध्यक्ष रसकुमा राई, अनेरास्ववियुका अध्यक्ष मोहन सङ्ग्राम र नेपाल खेलकुद महासंघका अध्यक्ष महेश राईले प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालमार्फत सरकारलाई ज्ञापन–पत्र पठाएका हुन् । युवा तथा विद्यार्थी संगठनले पदमा बस्ने नैतिक धरातल गुमाइसकेका मन्त्रीहरूलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालय छिराएर सीमित व्यापारिक घरानालाई संरक्षण गर्नेगरी बजेट बनाएर देश कमजोर पार्ने र आफू नवधनाढ्य बन्ने बाटो रोज्ने अर्थ मन्त्री, मुलुकको संस्कृति संरक्षणको जिम्मा लिएको तर फोनैपिच्छे सांस्कृतिक विचलन आउने भाषा बोल्ने संस्कृति मन्त्री, खोप बेपत्ता पार्ने र औषधिको मूल्य बढाउने खेलको मतियार बनेका स्वास्थ्य मन्त्री, आयल निगमलाई नजिकको व्यापारिक घरानालाई जिम्मा लाएर कमिसन खाने खेलमा लागेका आपूर्ति मन्त्रीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, प्रदेशका महिला मन्त्रीले परपुरुषको घरमा प्रवेश गरेर उसकै श्रीमती र बालबच्चामाथि हातपात गर्दा तथा स्वकीय सचिवलाई कार्यवाहक दिने र कर्मचारीलाई हात हाल्नेसम्मका हर्कत गर्दा वर्तमान सरकार नैतिक जिम्मेवारी लिन तयार नभएको अनेरास्वबियुका अध्यक्ष संग्रामले बताए । ‘यति हुँदा पनि सरकार जनताको पक्षमा चुइँक्क बोल्दैन,’ उनले भने, ‘बरु देशलाई थप संकटमा पार्ने किसिमका सन्धि सम्झौता गर्ने तयारी गरेर बसिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?