लेखनाथ पुरस्कार विषमलाई : जोशीको सङ्ग्रहालय बन्ने

काठमाडौं . त्रिमूर्ति निकेतनले छन्दकवि गणेश विषमलाई यस वर्षको ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरेको छ ।

निकेतनको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दिइएको सो पुरस्कारको राशि रु एक लाख र सम्मानपत्र छ । आधा शताब्दीदेखि साहित्य जिर्जनामा तल्लीन विषमका दुई पुस्तक प्रकाशित छन् । कार्यक्रममा निकेतनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका घरमा सत्यमोहन जोशी सङ्ग्रहालय निर्माण गर्ने घोषणा पनि ग¥यो ।

सोही अवसरमा पत्रकार सुजीव बज्राचार्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन तथा समाजसेवी लक्ष्मीदास मानन्धरलाई यस वर्षको सत्यमोहन जोशी शताब्दी पदक गरियो । कार्यक्रममा शताब्दी पुरुष जोशीले नेपालको मौलिक पहिचान भाषा, कला तथा संस्कृतिको संरक्षणका लागि सरकार, साहित्यिक संस्था तथा युवाको संयुक्त प्रयास आवश्यक भएको बताए ।

सत्यमोहन जोशी शताब्दी पदकबाट सम्मानित महर्जनले जोशीको शतवार्षिकी वर्षभरी नै मनाइने तथा जोशी सङ्ग्रहालय निर्माण गर्न सहयोग गरिने वचन दिए । बालकृष्ण फाउण्डेशनका अध्यक्ष मदनदास श्रेष्ठ, सत्यमोहन जोशी शताब्दी महोत्सव समारोह समितिका संयोजक उषा ठाकुर, निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईं, साहित्यकार मोदनाथ प्रश्रितलगायतले भाषा साहित्यको विकासमा जोशीले गर्नुभएको योगदानमाथि चर्चा गरे ।

कार्यक्रममा नरेन्द्रराज प्रसाईंले लेख्नुभएको ‘विद्रोही प्राज्ञ प्रेमा शाह’ तथा गायत्री घर्ती मगरले लेख्नुभएको आत्मकथा ‘एक भूल’को पनि विमोचन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?