सेयर बजारमा हरियाली : नेप्से करिब ९५ अंकले बढ्यो, कारोबार रकममा पनि उछाल

लोकपथ
585
Shares

काठमाडौं । लगातार ओरालो लागिरहेको नेपाली सेयर बजारमा आज (आइतबार) उछाल आएको छ । दिनहुँजसो ओरालो यात्रा गरिरहेको सेयर बजार आज ५.१० प्रतिशतले बढेको हो । सेयर बजार बढेसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् ।

लामो समयदेखि बजार निरन्तर घट्दा लगानीकर्ताहरुको मनोबल खस्किएको थियो । पुँजी बजार सुधार र विकारका लागि लागि भन्दै लगानीकर्ताहरु संघर्षमा समेत उत्रिएका थिए । पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला १० दिनसम्म आमरण अनशन बसेका थिए । दशौँ दिनमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले उठाएका १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलनरत लगानीकर्ता र बोर्डबीच सहमति जुटेको थियो । सहमति जुटेसँगै तिलक कोइरालाले १०औँ दिन जुस पिएर अनशन तोडेका थिए ।

सो सहमतिसँगै शुक्रबार पनि सेयर बजार सकारात्मक देखिएको थियो । आज पनि सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ बिन्दुमा पुगेको छ ।

त्यस्तै ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १७.९३ अंकले बढेर ३८२.८४ बिन्दुमा उक्लिएको छ ।

आज कारोबार अवधिभर २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । एक अर्बको हाराहारीमा हुने गरेको कारोबार आज २ अर्ब नाघेको छ ।

यसदिन १३ वटै सूचकमा हरियाली छाएको छ । यस दिन लगानी समूहको सेयरमूल्य सर्वाधिक ८.८७ प्रतिशतले बढेको छ ।

त्यस्तै, विकास बैंक समूहको सेयर मूल्य ८.३ प्रतिशतले बढेको छ । व्यापार समूहको सेयर मूल्य ७.७९ प्रतिशत, हाइड्रोपावर समूहको ७.७ प्रतिशत, फाइनान्स समूहको ७.७ प्रतिशत, अन्य समूहको ७.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६.२३ प्रतिशतले बढेको छ ।

त्यसैगरी, होटल र पर्यटन समूहको ५.७३ प्रतिशत, लघुवित्त समूहको ५.७६ प्रतिशत, जीवन बीमा समूह ४.०९ प्रतिशत, निर्जीवन बीमा समूहको ४.८ प्रतिशत, म्युचुअल फण्ड समूहको ३.६५ प्रतिशत र बैंकिङ समूहको २.६९ प्रतिशतले वृद्धि भएको छ ।

यसदिन २१ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ४८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । यसदिन १९१ कम्पनीको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?