बिम्सटेक शिखर सम्मेलन तयारी : सडकदेखि ‘भीभीआइपी’ को सुरक्षाको जिम्मा सेनालाई

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिम्सटेक सम्मेलनको सडकदेखि सम्मेलन स्थलसम्मको सुरक्षा जिम्मेवारी सेनाले लिएको छ । 

यही १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सेनाले हतियार सहितको पट्रोलिङ गस्तीमा समेत निकालेको छ । 

त्यस्तै, सम्मेलनस्थलको भित्री सुरक्षा व्यवस्थापनको जिम्मेवारी र भीभीआइपीहरु भ्रमण गर्ने मुख्यस्थलको सुरक्षा पनि सेनालाई दिइएको छ । 

सैनिक प्रवक्ता गोकुल भण्डारीले बिमस्टेक जस्तो अन्तर्राष्ट्रिय शिखर सम्मेलनलाई सुरक्षित र व्यववस्थित बनाउन सुरक्षा व्यवस्थापन सेना परिचालन भएको बताए । 

सेनाले शिखर सम्मेलनका विशिष्ट अतिथिहरुको आवत–जावत हुने महत्वपूर्ण स्थलहरु र सडकका अतिरिक्त उपत्यकाको प्रायः सडक गल्लीहरुमा सेनाले २४ औं घण्टा पैदल गस्ती गर्ने भएको छ ।

पैदल गस्तीमा उपत्यका पृतना अन्तरगत विभिन्न युनिटहरुबाट सुरक्षाकर्मी खटाइएको सेनाले जनाएको छ । 

त्यस्तैं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक्षेत्र र होटल सोल्टीमा रहेको सम्मेलन स्थलको सुरक्षा जिम्मेवारी पनि सेनालाई प्रदान गरिएको छ । 

शिखर सम्मेलनस्थलमा थप सहयोगीको रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । 

गृह मन्त्रालयका अनुसार, अतिथिहरुको (भीभीआइपी) विशिष्ट अतिथिहरुको सवारी सञ्चालनदेखि सम्मेलनस्थलको सुरक्षामा दोस्रो तहको सुरक्षा घेरा प्रहरीको उपस्थिति हुने छ । 
प्रहरीलाई ‘ब्याक सर्पोट’ मा सशस्त्र प्रहरी परिचालन गरिएको छ । 

कार्गेट सवारी पूर्वअभ्यास 

नेपाल प्रहरीले बिम्सटेक शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट अतिथिहरुको कार्गेट सवारी सञ्चालनका लागि सोमवार विहान पूर्वअभ्यास गरेको छ । 
अतिथिहरुलाई आवश्यक सुरक्षा ब्यवस्था सहित आवास स्थलसम्म पु¥याउन पूर्वअभ्यास गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि होटल सोल्टीसम्म विहान आठवजे एक घण्टा लामो कार्गेट सवारी सञ्चालनको पूर्वअभ्यास गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको हो । 

विशिष्ट अतिथिहरुको सुरक्षाका लागि दुईटा जामर गाडी सहित नौदेखि १२ वटा कार्गेट सवारी हुने जनाइएको छ । 

केही अतिथिहरुले ‘बुलेट प्रुफ’ सवारी आफूसंगै ल्याएपनि केहीलाई भने नेपालमै रहेको सवारी साधनहरु उपलब्ध गराउने तयारी भइरहेको छ । 

शिखर सम्मेलनका अतिथिदेखि सहभागी पाहुनाहरु बास वस्ने होटल तथा भ्रमण गर्ने स्थानको सुरक्षा निगरानी उच्च बनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध हुने

भारतका प्रधानमन्त्री मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री छानोछा आगमनका क्रममा १४ गते विहीवार विहान ८ देखि १० वजेसम्मको समयमा विमानस्थलको उडान सेवा बन्द हुने छ । 

एकै पटक तीन देशका ‘भिभिआइपी’ को आगमन हुने भएकाले एयरजाम घटाउन छोटो समयका लागि उडान सेवा स्थगित गर्ने निर्णय भएको हो ।  

भिभिआइपीहरुको आगमनसँगै विमानस्थलमा हुने एयर ट्राफिक जाम घटाउन अन्तर्राष्ट्रिय उडान सेवालाई २४ औं घण्टा खुला राखिने बताइएको छ । 

त्यस्तैं, शिखर सम्मेलन समापनपछि भीभीआइपी फिर्ता हुने क्रममा पनि केही समय हवाई सेवा अवरुद्ध हुने छ । 

तीन दिन जोर– विजोर

बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गरिएको छ । 

गृह मन्त्रालयले १३ र १५ गते विजोर र १४ गते जोर नम्वरका सवारी साधन सञ्चालन गर्न अनुरोध गरेको छ । 

शिखर सम्मेलनको उद्घाटनको दिन १४ गते र समापनको दिन १५ गते सार्वजनिक विदा दिनुको सट्टा जोर विजोर सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । 

त्यस्तैं, उपत्यकामा सञ्चालित शिक्षण संस्थाहरु (विद्यालय तथा उच्च मावि) दुई दिन बन्द गर्ने निर्णय गरेको छ । 
    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?