१८ औँ ‘एशियाड’: कास्य पदक जित्न चुकिन् अनु

जाकार्ता । नेपालकी अनु अधिकारी  इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ महिला कराँतेमा पदक जित्नबाट चुकेकी छिन् ।

 प्लेनेरी हलमा सोमवार सम्पन्न भएको महिला ५० केजी तौल समूहको खेलमा नेपालकी अधिकारी जापानकी मियाहारा मिरोसँग ९-० अंकले पराजित हुँदै कास्य पदक जित्नबाट बञ्चित भएकी हुन् । 

अनुलाई जापानकी मियाहाराले शुरुवाती समय देखि नै आफ्नो दवावमा राखेकी थिइन् । अनुले उनीविरुद्ध कुनै अंक जोड्न सकिनन्। 

यसअघि अनुले प्रि-क्वाटरफाइनल खेलमा मकाउकी चीन चाओङलाई ५-१ अंकले पराजित गरेकी थिइन् । तर, क्वाटरफाइनलमा उनी चाइनिज ताइपेइकी सियाउसाङसँग ७-२ अंकले पराजित भइन् । 

ताइपेइकी सियाउसाङले सेमिफाइनलमा मियाहारा मिरोलाई ४-२ ले पराजित गरेपछि नेपालकी अनुले कास्य पदकका लागि हुने रिपचेज खेल्न पाएकी थिइन्।

रिपचेजको पहिलो खेलमा अनुले लाओसकी खेलाडी सिरिभिमोनलाई ३-१ ले हराइन्। लाओसकी सिरिभिमोलाई पराजित गरेसँगै अनुले जापानकी मियाहारासँग कास्य पदकको लागि भिडेकी थिइन् । 

त्यस खेलमा उनी जापानी मियाहारासँग पराजित भएसँगै कास्य पदक जित्ने सपना चकनाचुर भएको हो । यस विधाको स्वर्ण पदक भने ताइपेइकी सियाउसाङले जित्न सफल भइन् । 

यो खेलसँगै नेपालको करातेमा पनि चुनौती सकिएको छ । 

गत संस्करणमा कराँतेले कास्य पदक जित्दै नेपालको लाज बचाएको थियो । त्यतिबेला नेपालका लागि बिमला तामाङले कास्य पदक जितेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?