बिम्सटेक सम्मेलनको तयारी पूरा, यसरी गरियो रिहर्सल

काठमाडौं ।  बिम्सटेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि 'स्कर्टिङको रिहर्सल' आज बिहान काठमाडौंमा भएको छ ।  

पैदल यात्री समेत हिँड्न नसक्ने गरी किन जाम गरिएको थियो । आज काठमाडौंमा गाईजात्रा पर्वको सार्वजनिक विदा भएकाले अघिल्ला दिनको तुलनामा गाडीहरु कमै चल्नुपर्ने हो । तर सोमबार एकाबिहानै मानिसहरु केही घण्टा जाममा परे ।

यहीबीचमा एयरपोर्ट बानेश्वरतिरबाट माइतीघरतर्फ केही थान गाडीहरु साइरन बजाउँदै हुइँकिए । स्कर्टिङसहितका गाडीहरु गइसकेपछि थाहा भयो–त्यसमा कुनै भीभीआईपी थिएनन् । त्यो त बिम्स्टेक सम्मेलनमा आउने विदेशी पाहुनाहरुको लागि स्कर्टिङको रिहर्सल थियो ।

एयरपोर्ट, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर हुँदै सोल्टी होटलसम्म स्कर्टिङको रिहर्सल गरिएको ट्राफिक प्रहरी स्रोतले बतायो ।

यसैबीच सम्मेलनका दौरान सदस्य मुलुकहरुबीच ग्रीड कनेक्टिभिटी सम्बन्धी समझदारी हुने बताइएको छ । सबै सात सदस्य राष्ट्रका राष्ट्राध्यक्ष वा प्रधानमन्त्रीहरूको उपस्थितमा सदस्य मुलुकहरूका प्रतिनिधिहरूले यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । 

मन्त्रिपरिषद्को बैठकले नेपालको तर्फबाट समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरिसकेको छ । यो समझदारीपछि सबै सदस्य मुलुक अन्तरदेशीय विद्युत् प्रसारण लाइन सञ्जालमा जोडिने बाटो खुल्ने छ । 

बिम्स्टेको चौथो सम्मेलनको अर्को एजेन्डा भनेको सदस्य मुलुकहरुबीचको यातायात तथा पारवहन सम्झौता हुनेछ। यसअघि नै सबै सदस्य मुलुकहरू यो सम्झौता गर्न सहमत भइसकेका छन् । तर सम्झौताको प्रोटोकलमा सहमति जुट्न सकेको छैन ।

बिम्स्टेक सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुँदैछ । त्यसको तयारी लगभग पूरा गरेको सरकारले विदेशी सरकार प्रमुखहरुको आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारेको छ । सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

यो अवधिमा चार वटै सुरक्षा निकायका २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने छन् ।

बिम्स्टेकमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्याण्ड सदस्य छन् । सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ भदौदेखि नेपाल आउन सुरु गर्नेछन् ।

आगामी भदौ १४ गते बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विहान अढाई घण्टा नियमित उडान अवतरण रोकिने भएको छ । विहान ८ बजेदेखि साढे १० बजेसम्म विमानस्थलमा अति बिशिष्ष्ट व्यक्तित्व ९भीभीआईपी० सवार विमानहरु उत्रनेछन् ।

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको हो । सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश पाउने छैनन् । 

१४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ । कुनैपनि उडान अवतरण प्रभावित नहोस् भने २४ घण्टा नै सेवा खुला गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?