लमजुङका अधिकांश उम्मेदवारले बुझाएनन् चुनावी खर्च विवरण 

लोकपथ
104
Shares

लमजुङ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उम्मेदवारमध्ये ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उम्मेदवार बनेका तीनरतीन जनाले खर्च विवरण बुझाएका हुन् । सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उम्मेदवार रहेका छन् भने ३८ जना सदस्य पदका उम्मेदवार रहेका छन् ।

चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेँसीसहरमा नगरप्रमुख उम्मेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेँसीशहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

त्यस्तै उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेँसीशहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजङ तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेँसीशहर नगर उपप्रमुख पदमा उम्मेदार बनेका थिए । त्यसैगरी पदममाया गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट बेसीशहर नगर उपप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उम्मेदवारको खर्च विवरण आएको छैन ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उम्मेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरीएको छ ।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एक हजार ४१ जना उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?