काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त भएको बताएका छन् ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरीने टर्मीनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौंबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताए ।
भोलि असार १३ गतेबाट लागु हुनेगरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नु पर्ने निर्णय लागु भएको जानकारी गराउँदै मन्त्री आलेले अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने बताए ।
सोही कार्यक्रममा मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नतीसहित क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी गराए । ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गरे ।

सुदूरपश्चिममा पर्यटन प्रबद्धन तथा यहाँको विकासका लागि भएपनि गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन जरुरी भएको समेत मन्त्री आलेले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्ष समेत रहेका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यस अघि गेटा विमानस्थल विस्तारका लागि एक अर्ब बजेट विनियोजन गरेको थियो ।
क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्नका लागि जग्गा अधिग्रहणको काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको हो । गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने २५८ विघा जग्गा अधिग्रहण तथा संरचना निर्माणको प्रक्रिया पनि सुरु भएको छ । मन्त्री आलेकै पहलमा यसवर्ष पनि उक्त विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि रु १ अर्व पाँच लाख बजेट विनियोजन भएको गेटा विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया